गोडैता – सर्लाहीको पश्चिमी भेगस्थित गोडैता नगरपालिकामा स्वास्थ्यतर्फ संचालित कार्यक्रमहरुको पालिका स्तरीय दुई दिने समिक्षा गोष्टि सम्पन्न भएको छ। नगरपालिकाको शभाहलमा बुधबारबाट सुरु भएको समिक्षा गोष्टि हिंजो (बिहिबार) सम्पन्न भएको हो।
समिक्षा गोष्टिमा गोष्टिमा नगरपालिका भित्र रहेका १२ वटा स्वास्थ्य चौकीहरुले बितेका बर्षमा के, कस्ता, कसरि सेवाहरु दिए, स्वास्थ्य चौकीको अवस्था के कस्तो छ ? र आउँदो बर्ष, आगामी दिनहरुमा कसरि सेवा दिने बिषयमा छलफलका साथै ति १२ वटा स्वास्थ्य चौकीहरुहरु मध्ये सबै भन्दा उत्कृष्ट कार्य गर्ने स्वास्थ्य चौकीहरुलाई सम्मानसहित प्रमाण पत्र प्रदान गरिएको थियो।
गत आर्थिक बर्षमा स्वास्थ्य संस्थाले गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरणहरु आ-आफ्ना स्वास्थ्य चौकीका प्रमुखहरुले प्रस्तुत गरेका थिए। सोहि प्रस्तुत विवरणहरु अनुसार पालिका भित्र उत्कृष्ट कार्य गर्ने स्वास्थ्य चौकीहरुमा वडा नम्बर ११ स्थित सिसौटिया स्वास्थ्य चौकी प्रथम स्थानमा, वडा नम्बर ६ स्थित बगदह स्वास्थ्य चौकी दोस्रो र वडा नम्बर २ स्थित बेल्वाजब्दी स्वास्थ्य चौकी तेस्रो स्थानमा परेका छन्।
उत्कृष्ट कार्य गर्ने यी तिन स्वास्थ्य चौकीहरुलाई सम्मानसहित प्रमाण पत्र प्रदान गरिएको थियो। तर यो मुल्यांकन आन्तरिक रुपमा गरिएको बताइएको थियो। कार्य बिबरण प्रस्तुत गरे अनुसारको मुल्यांकन राम्रो नभएको त्यहाँ उपस्थित व्यक्तिहरुले बताएका थिए। वास्तवमा राम्रो कार्य गर्नेहरुलाई भन्दा पनि कामै नगरेकाहरुलाई उत्कृष्टमा घोषणा गरेको आरोपसमेत लगाएका थिए।
यस्तै, गोष्टिमा स्वास्थ्य संस्थाहरुमा सेवा प्रबाह गर्ने क्रममा तथा कार्यालयहरुमा के कस्ता समस्या रहेको र ति समस्याहरुलाई कसरि समाधान गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल भएको थियो। कतिपय समस्या तत्काल समाधान गर्ने भन्दै केहि सम्बन्धित स्वास्थ्य चौकीका प्रतिनिधिहरुले प्रतिबद्धतासमेत गरेका थिए। नगरप्रमुख देबेन्द्र यादव, उपप्रमुख अञ्जना कुशवाहा, नगरपालिका भित्रका वडा पालिकाका वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख प्रमोद पण्डितलगायत सरोकारवालाहरुको सहभागिता रहेको छ।
सम्बन्धित खबर :
– गोडैतामा स्वास्थ्यतर्फ संचालित कार्यक्रमहरुको पालिका स्तरीय दुई दिने समिक्षा गोष्टि सुरु