
सर्लाही – सर्लाहिको गोडैता नगरपालिकाले पालिका भित्रका मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पुर्याउने महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण गरेको छ।
आज (शुक्रबार) गोडैता नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको प्राङ्गनमा एक औपचारिक कार्यक्रमकाबिँच पालिका भित्रका ९१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई कार्य सहजताका निम्ति साईकल बितरण गरिएको स्वास्थ्य शाखा गोडैताका प्रमुख प्रमोद पण्डितले जानकारी दिए।
कार्यक्रममा बोल्दै एक महिला स्वास्थ्य स्वयंसेविकाले दुई/तिन बर्षदेखि नै आफूहरुलाई साईकल भए काम गर्न सहज हुने भन्दै माग राखेकोमा बल्ल बल्ल ढिलै भएपनि पालिकाले व्यवस्था गरेको बताइन। साईकल पाएपछि अब सेवा दिन सहज हुने भन्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुले खुशी व्यक्त गरिन।
कार्यक्रममा बोल्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारि तुलसी बहादुर श्रेष्ठले विश्वमै स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेको कुराहरु बताउँदै स्वयंसेविकाहरुलाई सेवा प्रवाहमा पालिकाले यो किसिमले सहयोग गरेकोमा धन्यवाद दिए।
स्वयंसेविकाहरुलाई पहिले नै साईकल बितरण गर्ने भनिएकामा बिबिध समस्याका कारणले नसकिएको नगरप्रमुख देबेन्द्र यादवले बताए। केहि समय अघि उक्त कामको ढिलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवका कारण भएको नगरप्रमुख र स्वास्थ्य शाखा प्रमुख प्रमोद पण्डितले आरोप लगाएका थिए।
प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवका कारण स्वास्थ्य स्वयंसेविकाहरुले साईकल नपाएको समाचार रेडियो धड्कनले प्रसारण र प्रकाशन गरेको थियो। आज भने प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवले साईकल खरिद गर्ने प्रक्रिया झन्झट भएका कारण ढिला भएको बताए।
यस्तै, सोहि कार्यक्रममा पालिका भित्रका २०८१ को एसईईको परिक्षामा ‘ए पल्स’ ग्रेड ल्याउने १० जना विद्यार्थीका अभिभावकलाई सम्मान गरिएको थियो। पालिकाले यसघि नै उनीहरुलाई पुरस्कार वाफत जनही २५ हजारका दरले प्रत्येकलाई रकम प्रदान गरिसकेको थियो। पालिका भित्रका विद्यार्थीको मनोबल उच्च गर्न तथा प्रोत्सानका लागि यो काम गरिएको बताईएको छ।
कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारि तुलसी बहादुर श्रेष्ठ, जिल्ला समन्वय समितका अध्यक्ष कौशल किशोर सिंह, गोडैता नगरपालिकाका नगरप्रमुख देबेन्द्र यादव, उपाध्यक्ष अन्जना कुशवाहा, नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु, पालिकाका सम्पूर्ण वडा अध्यक्षहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, स्थानीय, सरोकारवालाहरु लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो।