
सर्लाही – आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ ।
पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसीयाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ ।
पहाड र तराईमा किन फरक दिन मनाइन्छ फागुपूर्णिमा र होली ?
पहाडमा नेपाली पञ्चाङ्ग र मधेसमा मिथिला पञ्चाङ्ग अनुसार होली मनाउने भएको हुनाले फरक देखिएको हो। पहाड र मधेसको सँस्कृति फरक–फरक भएको हुनाले चाडपर्व मनाउने कुरामा फरक हुने बताउँदै कसको पालामा कुन पर्वको सुरुवात भयो, त्यसले पनि मनाउने समय फरक देखिने गरेको जानकारहरु बताउछन ।
मिथिलाका राजा हर्षवर्द्धनका पालादेखि परम्परागत रुपमा होली मनाउन सुरु गरिएको हो । तर, पहाड मध्यकाल अर्थात मल्लकालका राजाका पालादेखि मनाउन सुरु गरिएको हो । फरक– फरक समयमा सँस्कृतिको सुरुवात भएका कारण चाडपर्व मनाउनेदिन फरक परेको हो ।
फागुन शुक्ल पक्ष अष्टमीको दिन काठमाडौंको वसन्तपुरमा होलीको चीर खडा गरेपछि पहाडमा विधिवतरुपमा होलीको सुरुवात भएको मानिन्छ । फागुन शुक्ल पक्ष अष्टमीको दिनदेखि सुरु भएको होली पूर्णिमाका दिन सम्पन्न हुन्छ ।
तर, तराई मधेसमा वसन्त पञ्चमीका दिनदेखि नै होलीको सुरुवात हुन्छ र १५ दिनसम्म मनाइन्छ । अर्थात फागु पूर्णिमाको दिन होलिकाको दहन गरेपछि त्यसको खुसीयालीमा त्यसको भोलिपल्ट रंग अबीर खेलिन्छ र होली सम्पन्न हुन्छ ।
सम्बन्धित खबर :
– मर्यादित र सभ्य तरिकाले होली मनाउन जिप्रका सर्लाहीको अपिल