
सर्लाही – सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका–७, नोकैल्बास्थित श्री शिवन फुनिया देवी जनता माध्यमिक विद्यालय शिक्षाको मन्दिर होइन, अब अराजकताको केन्द्र जस्तो देखिन थालेको छ। भौतिक, शैक्षिक र व्यवस्थापकीय अवस्था यस्तो बेहाल छ कि शब्दमा बर्णन गर्न सकिदैन। त्यसको सबै जिम्मेवार प्रध्यानाध्यापक रहेको सबैको आरोप छ।
विद्यालयमा न शिक्षक समयमा आइपुग्छन्, न कक्षामा नियमित पढाइ हुन्छ। प्रधानाध्यापक वासुदेव रायमाथि त विद्यालयलाई व्यक्तिगत गोदामझैं प्रयोग गर्ने, सरकारी मापदण्ड र नियमको खिल्ली उडाउने, र निर्णयमा कसैको संलग्नता नलिने गम्भीर आरोप लागेका छन्। कक्षाकोठा सुनसान छन्, शौचालय प्रयोगविहीन छन्, दिवा खाजा कार्यक्रम कागजमै सीमित छ, र विद्यालय परिसरमा गाईगोरु बाँधिएको अवस्था देख्दा यो शिक्षालय हो कि चरन क्षेत्र भन्ने द्विविधा लाग्छ।
शिक्षकहरू खुलेरै प्रधानाध्यापक रायमाथि आक्रोश पोखिरहेका छन्। उनीहरूले रायलाई विद्यालयको अस्तव्यस्तताको मूल जड ठानिरहेका छन्। विद्यालय हाँक्ने नाममा उनी आफ्नै मनपरी चलाउँछन्, सोहि बिद्यालयका शिक्षकहरु बताउछन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामछबिला यादव र सदस्य अरविन्द कुमार राय पनि प्रधानाध्यापककै असंवेदनशीलता र गैरजिम्मेवारीपनलाई विद्यालयको आजको दुरावस्थाको प्रमुख कारण मान्छन्।
“विद्यालयमा कुनै निर्णय प्रक्रियामा समावेश नगरिने, शिक्षकमाथि दवाव र दण्डको शैली अपनाइने, अभिभावकसँग संवादहीनता छ,” समितिको आरोप छ। तर यस आरोप–प्रत्यारोपको खेलमा सबैभन्दा बढी मारमा परेका छन् विद्यालयमा अध्ययनरत बिपन्न र गरिब घरका बालबालिका, पढाइको नाममा उनीहरूले पाएका छन् निराशा, उपेक्षा र भविष्यको अन्धकार।
यसैबीच, गाउँपालिका अध्यक्ष राम पदारथ साह तेली र प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउत भने विद्यालयको दुर्दशाका लागि शिक्षक, प्रधानाध्यापक र अभिभावक सबैको दोष रहेको टिप्पणी गर्छन्। “विद्यालयको सुधार सामूहिक प्रयासमा मात्र सम्भव हुन्छ, दोषारोपण गरेर होइन,” पालिकाको भनाइ छ।
स्थानीय अभिभावकहरू भने आफ्ना सन्तानको भविष्यप्रति चिन्तित छन्। उनीहरु भन्छन ”१० बर्षदेखि बिद्यालयको प्रध्यानाध्यापकमा राय नै छन्। उनी प्रध्यानापक हुनु भन्दा अघि बिद्यालयको अवस्था राम्रो थियो तर उनि आएदेखि विद्यालयको दुर्दशा सुरु भयो, अब यिनको सरुवा नभएसम्म बिद्यालयको अवस्था सुध्रिदैन, हाम्रा बालबालिकाले गुणस्तरीय शिक्षा पाउदैनन।” राज्यबाट सुविधा, शिक्षक र कार्यक्रम भए पनि जिम्मेवारीको घोर अभावले विद्यालय शिक्षाको मन्दिर होइन, लथालिङ्ग बनिसकेको छ।
यो पनि पढ्नुहोस:
– श्री शिवन फुनिया देवी जनता मावि: अराजकता र लापरवाहीको दलदलमा, विद्यार्थीको भविष्य अन्योलमा