सर्लाही – सप्तकोशीमा हराएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव हराएको चार दिनपछि फेला परेको छ। आइतबार बिहान कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक उनको शव भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
शव निकाल्ने काम डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा कुरिन्टारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको टोलीले गरेको हो। साउदसहित बेपत्ता भएका अर्का गोताखोर हरदेव राजवंशीको शव यसअघि शुक्रबार फेला परेको थियो। डिएसपी थापाका अनुसार राजवंशीको शव घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा भेटिएको थियो।

गत बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा पर्ने कोशी नदीमा प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यासका क्रममा साउद र राजवंशी बेपत्ता भएका थिए। दुवै जनाले क्रमशः २०८० र २०८१ सालमा गोताखोर तालिम सम्पन्न गरेका थिए र त्यसयता विभिन्न उद्धार कार्यमा सक्रिय थिए।
उनीहरू हराएपछि खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलले व्यापक तालमेलसहित अपरेशन सञ्चालन गरेको थियो। दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीबाट डिएसपीको नेतृत्वमा ४ जना गोताखोरसहित ३५ जना, र नम्बर ६ गणबाट २० जना तालिम प्राप्त सुरक्षाकर्मी परिचालन गरिएको थियो।
थप सहयोगस्वरूप कुरिन्टारस्थित तालिम शिक्षालयबाट अनुभवी गोताखोर डिएसपी भण्डारीको कमान्डमा थप ५ जनालाई बिहीबार राति नै घटनास्थलतर्फ खटाइएको थियो।
सम्बन्धित खबर:
– सप्तकोशीमा विपद् उद्धार अभ्यासका क्रममा दुई सशस्त्र गोताखोर बेपत्ता





