सर्लाही – सर्लाहीमा प्रहरी प्रशासनमाथि संगठित रूपमा आक्रोश पोख्दै पाँच प्रमुख राजनीतिक दलहरूले सशक्त आन्दोलनको घोषणा गरेका छन्। उनीहरूले निर्दोष नागरिकमाथि झूठा मुद्दा लगाइएको भन्दै कडा आपत्ति जनाउदै आएका थिए।
नेपाली कांग्रेसका केही नेताको इसारामा निर्दोष नागरिकहरूमाथि झुट्ठा मुद्दा लगाएको आरोप लगाउँदै नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (जसपा नेपाल) र नेपाल जनमोर्चालगायतका दलहरूले संयुक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेका हुन्।

सदरमुकाम मलंगवामा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा दलका शीर्ष नेता तथा स्थानीय तहका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले सर्लाही प्रहरी प्रशासन राजनीतिक स्वार्थका भरमा चलेको आरोप लगाउँदै उक्त प्रवृत्तिको कडा विरोध जनाए।
“प्रहरी जनताको सुरक्षा गर्नका लागि हो, कांग्रेसका नेताहरूका निजी स्वार्थ पूरा गर्नका लागि होइन,” अन्तक्र्रिया कार्यक्रममा एमालेका एक स्थानीय नेताले आक्रोश पोख्दै भने, “निर्दोषमाथि लगाइएका मुद्दा फिर्ता नभए सशक्त आन्दोलन हुनेछ।” कार्यक्रममा सहभागी सबै दलहरूले संयुक्त रुपमा आगामी दिनमा चरणबद्ध रूपमा सशक्त आन्दोलन चर्काउने निर्णयसमेत गरेका छन्।
प्रहरी प्रशासन राजनीतिक चाकरीमा रमाउँदै नागरिक अधिकारमाथि नै खेलवाड गरिरहेको भन्दै वक्ताहरूले प्रहरी संगठनभित्रै सुधारको आवश्यकता औंल्याए। उनीहरूले निष्पक्ष छानबिनमार्फत निर्दोषमाथिको मुद्दा खारेज नगरे कडा आन्दोलन अपरिहार्य हुने चेतावनी पनि दिए। प्रहरीको यस्तो कार्यशैलीले जनताको विश्वास गुमाउँदै गएको भन्दै दलहरूले लोकतान्त्रिक मूल्य, विधि र न्यायको पक्षमा उभिन सबैलाई आग्रह गरेका छन्।
यसघि सर्लाहीमा प्रहरीले गैरकानुनी रूपमा ज्यादती गरेको आरोप लगाउँदै यी पाँच प्रमुख राजनीतिक दलले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका थिए। संयुक्त विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य शिव पुजन राय, नेकपा एमालेका प्रदेश सदस्य सुरेश कुमार साह, जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष शम्भु प्रसाद यादव, जसपा नेपालका जिल्ला संयोजक विजय कुमार यादव, र नेपाल समाजवादी पार्टी (नेसपा) का जिल्ला अध्यक्ष विरेन्द्र कुमार रायको हस्ताक्षर रहेको थियो।
यो पनि पढ्नुहोस:
– सर्लाहीमा प्रहरी ज्यादतीको आरोप: पाँच दलको संयुक्त चेतावनी, ‘झूठा मुद्दा फिर्ता नभए कडा आन्दोलन गर्ने’





