प्रेस काउन्सिल अध्यक्षकै कलंकित छवि: भ्रष्टाचारमा दोषी ठहर, ६ महिना जेल र १ लाख बढी जरिवाना

२०८२ असार ८, आईतवार २१:२९

सर्लाही – मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्। भ्रष्टाचारविरुद्धको अभियानमा सरोकारवालै फसेपछि सञ्चार क्षेत्र नै विवादमा तानिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्यायलाई ६ महिना कैद र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो। साथै मुद्दाको पूरक माग अनुसार तीन लाख ५२ हजार ५६० रुपैयाँ बिगो कायम गरिएको छ।

सार्वजनिक पद धारण गरेका उपाध्यायले बाराको पचरौता नगरपालिकाको ठेक्कासम्बन्धी सूचनालाई सार्वजनिक खरिद ऐन मिच्दै राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरी स्थानीयस्तरको प्रभाव दैनिकमा मात्रै सूचना छापेका थिए।

उक्त कार्य उनी, नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मिया अन्सारीबीचको मिलेमतोमा भएको अख्तियारको अभियोग थियो। अदालतले यादवलाई समेत उपाध्यायकै समान ६ महिना कैद र बराबरको जरिवाना तोकेको छ। तर लेखापाल अन्सारीले आदेश पालना मात्र गरेको र उनीविरुद्ध ठोस प्रमाण नपुगेको भन्दै सफाइ दिइएको छ।

वैशाख ७ गतेमात्र अध्यक्ष नियुक्त भएका उपाध्यायविरुद्ध अख्तियारले दुई दिनपछि नै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनले कृपा दैनिकका सम्पादक तथा प्रेस चौतारी नेपालका पूर्व सचिवसमेतका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए। सञ्चारकर्मीसम्बन्धी निकायको नेतृत्वमै रहेका व्यक्तिबाटै भ्रष्टाचार पुष्टि हुनु निन्दनीय मात्र नभई सम्पूर्ण पत्रकारितामाथि गम्भीर प्रश्न समेत उठाएको छ।

सम्बन्धित खबर:
दुई दिनअघि नियुक्त भएका मधेश प्रेस काउन्सिलका अध्यक्ष उपाध्यायविरुद्ध विशेषमा मुद्दा दायर

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार