सर्लाही – सर्लाहीको रामनगर गाउँपालिका–५, सिसौटमा रहेको श्री बागमती माध्यमिक विद्यालयका परीक्षार्थीको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा अन्ततः चार दिनपछि सार्वजनिक भएको छ।
राष्ट्रिय परीक्षा बोर्डबाट देशभरको नतिजा सार्वजनिक भए पनि सो विद्यालयको नतिजा समयमै आउन सकेको थिएन। बोर्डकै प्राविधिक कारणले विद्यालयको नतिजा अनलाइन प्रणालीमा समावेश हुन नसकेको बुझिएको छ। विद्यालयका कर्मचारीहरू आफैं राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा पुगेर नतिजाको प्रमाणित प्रति ल्याएका हुन्।

बोर्ड कार्यालयमा पुगेका विद्यालयका कर्मचारी रामनिवास यादवका अनुसार, सम्पूर्ण परीक्षार्थीको उत्तरपुस्तिका मूल्याङ्कन प्रक्रिया सम्पन्न भइसकेको थियो। तर प्राविधिक कारणले मात्र नतिजा प्रकाशनमा ढिलाइ भएको हो। उनी भन्छन्, “अब केहि दिनमै बोर्डको वेबसाइटबाटै पनि नतिजा हेर्न सकिनेछ।”
यस विद्यालयबाट ११७ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए। देशभर नतिजा सार्वजनिक हुँदा पनि आफ्नो विद्यालयको नतिजा नआउँदा विद्यार्थी र अभिभावकहरूमा असन्तोष बढेको थियो। आक्रोशित अभिभावक र विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गर्दै विरोध प्रदर्शनसमेत गरेका थिए।
यो पनि पढ्नुहोस:
– नतिजा नै आएन: सर्लाहीको एक विद्यालयबाट एसईई दिएका १२६ विद्यार्थीको भविष्य अन्योलमा





