मलंगवा – सर्लाहीको लालबन्दी नगरपालिकाले तरकारी निकासीमा लगाइएको कर फिर्ता लिएको छ। नगरपालिकाको यो निर्णय किसानहरूको आन्दोलनी दबाबपछि आएको हो। साउन १ गतेदेखि लागु हुने गरी नगरपालिकाले तरकारी निकासीमा कर लगाउने निर्णय गरेपछि थोक व्यापारीहरूले विरोध जनाउँदै तरकारी खरिद गर्न बन्द गरेका थिए।
व्यापारीको यो कदमले प्रत्यक्ष असर किसानहरूमा परेको थियो। उत्पादन गरिएका तरकारी बजारमा बिक्री नभएपछि किसानहरूले आइतबार बिहानदेखि लालबन्दी बजार क्षेत्रमा प्रदर्शन गरे। आक्रोशित किसानहरूले टमाटर, बोडी, परवललगायतका तरकारी सडकमै तेर्स्याउँदै पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध गरे।

राजमार्ग बन्द हुँदा सयौँ सवारी साधन जाममा परे भने हजारौँ यात्रु दिनभर सास्तीमा परे। लामो दूरीका गाडीहरू घण्टौँ रोकिएपछि लालबन्दी बजार क्षेत्र अस्तव्यस्त बन्न पुग्यो। कृषि उपज संकलन केन्द्रका अध्यक्ष प्रमोद थपलियाका अनुसार, व्यापारीहरूले पहिले गरिएको सहमति कार्यान्वयन नभएको भन्दै कर अस्वीकार गरेका थिए।
व्यापार रोकिएपछि किसानहरूले आन्दोलन चर्काएका हुन्। किसानहरूको आन्दोलन र चौतर्फी दबाबका बीच लालबन्दी नगरपालिकाले आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै कर स्थगन गर्ने निर्णय गरेको जानकारी दिएको छ। नगर कार्यपालिकाको साउन २ गतेको बैठकले अर्को निर्णय नभएसम्मका लागि कर स्थगन गर्ने निर्णय गरेको उल्लेख गरिएको छ।
नगरपालिकाको निर्णयपछि बजार र राजमार्ग दुबै पुनः सञ्चालनमा आएका छन्। सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको मुख्य पकेट क्षेत्रका रूपमा चिनिन्छ, जहाँबाट दैनिक रूपमा लाखौँ रुपैयाँ बराबरको ताजा तरकारी काठमाडौँ, पोखरा, नारायणगढलगायतका प्रमुख सहरमा निकासी हुने गर्दछ।

यो पनि पढ्नुहोस:
– लालबन्दीमा किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध





