मलंगवा – सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार राति भएको गोली प्रहारमा एक पूर्वशिक्षकको मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार छोरासँगको लागूऔषध विवादको बदलामा भारतीय पृष्ठभूमिका अपराधीले बुबामाथि गोली चलाएका हुन्।
राति करिब ८:२० बजे घर अगाडि छिमेकीहरुसंग बसेर कुराकानी गरिरहेका ५५ वर्षीय पूर्वशिक्षक रामपुकार यादवलाई मोटरसाइकलमा आएका दुई जनाले टाउकोमा गोली हानेका थिए। भारतीय नम्बर प्लेट बीआर – पीएजी – २३५४ भएको अपाचे मोटरसाइकलमा आएका ती व्यक्तिले यादवसँग उनका छोरा सुमितबारे सोधपुछ गरेका थिए।

छोरा घरमा नभएको थाहा पाएपछि उनीहरूले मोबाइल निकालेका यादवलाई गोली हानेर फरार भएका प्रहरीको भनाइ छ। गम्भीर घाइते यादवलाई तत्कालै महोत्तरीको पर्सास्थित जानकी हेल्थ केयरमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
हत्या गरेर भागेका अपराधी सर्लाहीकै हरिपुर्वामा मोटरसाइकल दुर्घटनामा परे। सो क्रममा चालक हरिपुर्वा–५ का धिरेन्द्र यादव ‘धिरु’ गम्भीर घाइते अवस्थामै पक्राउ परेका हुन्। उनलाई उपचारपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याइएको छ। तर गोली चलाउने मुख्य व्यक्ति भने फरार रहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार फरार अभियुक्त भारतीय नागरिक हुन्, तर लामो समयदेखि हरिपुर्वामा घर बनाएर बस्दै आएका थिए। उनका परिवारजन करिब चार दशकअघि भारतमा आपराधिक गतिविधिमा संलग्न भई नेपाल आएका र पछि नेपाली नागरिकता लिएको तथ्य समेत खुलेको छ।
डीएसपी सरोज राईका अनुसार अभियुक्त भारततर्फ भागेको आशङ्का गरिएको छ र भारतीय सुरक्षासँग समन्वय गरी खोजी भइरहेको छ। मृतक यादव गाउँमा इमानदार शिक्षकका रूपमा चिनिन्थे।
तर उनका छोरा सुमित लागूऔषध प्रयोगकर्ता रहेको र फरार अभियुक्तसँग लामो समयदेखि लागूऔषधकै विवाद रहँदै आएको प्रहरीको भनाइ छ। सोही विवादको बदलामा सुमितलाई लक्षित गरी आएका अपराधीले उनलाई नभेट्दा बुवामाथि गोली चलाएको देखिएको छ।
यो पनि पढ्नुहोस:
– सर्लाहीमा निजी विद्यालयका शिक्षकको गोली हानी हत्या
– सर्लाहीमा अज्ञात समूहको गोलि प्रहारबाट शिक्षकको मृत्यु





