सर्लाही – उखु किसानले सरकारले घोषणा गरेको रकम अपुरो भन्दै आन्दोलन निरन्तर गर्ने चेतावनी दिएका छन् । उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायका अनुसार सरकारले अनुदान रकम ३५ रुपैयाँ मात्र तोकेको छ, तर किसानको स्पष्ट माग प्रतिक्विन्टल ७० रुपैयाँ नै हो ।
“सरकारले ७५ करोड निकासा गरेको भनेको सरकारकै कुरा हो, तर किसानले माग गरेको दर कटौती गरेर दिइएको रकम स्वीकार हुँदैन,” उनले भने । रायका अनुसार किसानले अघिल्लो वर्ष पाएकाे ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान कटौती गरेर दिने सरकारले गरेको निर्णयप्रति आपत्ति छ ।

“हाम्रो आन्दोलनको पहिलो र अन्तिम एजेन्डा नै ७० रुपैयाँ हो,” उनले स्पष्ट पारे । सरकारले चार सदस्यीय वार्ता समिति गठन गरे पनि किसान पक्ष अडानमै रहने स्पष्ट संकेत गरेको छ । आइतबारदेखि तराईका १३ जिल्लाका ६ सयभन्दा बढी किसान काठमाडौँमा आन्दोलनमा छन् ।
त्यसपछि सरकारले मंगलबार मात्र ७५ करोड ४९ लाख रुपैयाँ निकासा गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो रकम जिल्ला कोष तथा लेखा नियन्त्रकको कार्यालय हुँदै किसानको खातामा भुक्तानी हुने भनिए पनि किसानले यसलाई ३५ रुपैयाँ दरमै सीमित गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
यो पनि पढ्नुहोस:
– उखु किसानलाई अनुदान: सरकारले निकासा गर्यो रकम, पर्सिसम्म किसानको खातामा पुग्ने





