सर्लाही – सरकारले किसानका लागि पठाएको अनुदानको २०० बोरा मल लुकाएर गोदाममा राख्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी रहेका छन्।
उनलाई मंगलबार जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईँले जानकारी दिए।

गत १२ भदौमा जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले चौधरीको गोदाममा अनुदानको मल फेला पारेको थियो। सरकारी सहयोगको मल अवैध रूपमा भण्डारण गरेको प्रमाण फेला परेपछि गोदामलाई तत्काल शिलबन्दी गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
पक्राउ परेपछि सर्वदलीय छलफलमार्फत फेला परेको मल किसानलाई वितरण गर्ने निर्णय भएको छ। सो निर्णयअनुसार वडा नं. १ देखि ७ सम्मका किसानलाई १७५ बोरा मल वितरण भइसकेको डीएसपी बजगाईँले बताए।
नगरपालिकाले तोकेको निर्णयअनुसार किसानले मल प्राप्त गर्दा प्रती बोरा एक हजार रुपैयाँ तिर्नुपर्नेछ। उठाइएको रकम भने प्रत्यक्ष रूपमा सरकारी राजस्व खातामा जम्मा गरिने व्यवस्था गरिएको छ।
सम्बन्धित खबर:
– किसानलाई बाँड्नुपर्ने अनुदानको मल व्यापारीको गोदाममा, दुई सय बोरा बरामद





