सर्लाही – जनमतका नेता एवं मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भदौ २४ गते जेनजी आन्दोलन उत्कर्षमा पुगेको बेला फेसबुकमार्फत राजीनामा घोषणा गरेका थिए । तर अन्तरिम सरकार गठनसँगै सिंहले आफ्नै भनाइ उल्टाएका छन् ।
त्यसदिन उनले सामाजिक सञ्जालमा, “नागरिकको ज्यानभन्दा ठूलो केही छैन, आत्मसम्मानपूर्वक मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु” भनेर लेखेका थिए । तर अहिले भने उनले त्यसलाई वास्तविक राजीनामा नभई ‘विषम परिस्थितिमा जनधनको क्षति रोक्न लेखिएको भावनात्मक अभिव्यक्ति’ मात्र भएको बताए ।

‘राजीनामा दिनुपर्छ भनेर म तयार थिएँ । तर त्यो दिन प्रदेश प्रमुख नै हुनुहुन्नथ्यो । कोही भएको भए दिन्थेँ,’ सिंहले आफ्नो तर्क प्रस्तुत गरे । चार दिनपछि पत्रकारहरूसँग कुरा गर्दै उनले थपे, ‘सिस्टम परिवर्तनको म स्वागत गर्छु । तर राम हटेर श्याम, श्याम हटेर भरत आउने खेलमा म छैन ।’
तर सोझो प्रश्न उठ्छ, फेसबुकमा ‘पदबाट राजीनामा गर्दछु’ लेखिसकेकाले सिंह नैतिक रूपमा मुख्यमन्त्री रहन सक्दैनन् भन्ने आलोचना भइरहेको छ । यसबारे उनी भन्छन्, ‘मान्नलाई मेरो मात्र नैतिकता छैन नि, सबैले मान्नुपर्छ । अनि मसँग कसैले राजीनामा मागेको पनि थिएन ।’
यसबीच उनले अझैसम्म संवैधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छैनन् । मधेश प्रदेश प्रमुख कार्यालयका सचिव शत्रुधन यादवका अनुसार, ‘मुख्यमन्त्री सिंहको राजीनामा पत्र अहिलेसम्म कार्यालयमा प्राप्त भएको छैन ।’
जनमत अध्यक्ष डा. सिके राउतको निर्देशनपछि सिंहले फेसबुकमा राजीनामा घोषणा गरेका थिए । तर केन्द्रमा नयाँ राजनीतिक समीकरण बनेर अन्तरिम सरकार गठन भएपछि सिंहले आफ्नो अघिल्लो वक्तव्यलाई औपचारिक नभएको दाबी गरेका हुन् ।
२५ जेठ २०८१ मा एमालेसहित सात दलको समर्थनमा मुख्यमन्त्री बनेका सिंहलाई पछि कांग्रेसको साथ मिलेको थियो । तर माओवादीसहितका दल सरकारबाट बाहिरिएपछि मधेशको राजनीति फेरि अनिश्चिततामा छ ।
यो पनि पढ्नुहोस:
– जनमत अध्यक्षको निर्देशनपछि मुख्यमन्त्री सिंहको राजीनामा
– फेसबुकमै राजीनामा घोषणा, तर कानुनत अझै मुख्यमन्त्रीकै जिम्मेवारीमा सिंह






