मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल मलंगवामा रहेको सरकारी सम्पत्तिको अस्पतालका मे.सु. संजीव कुमार सिंहले निजी प्रयोग गरेको समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले छानबिन समिति गठन गरेको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिव हरी पोखरेलको हस्ताक्षरमा आइतबार जारी पत्रका अनुसार सो विषयमा सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति बनाइएको हो।

समितिको संयोजकमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जय किशोर साह रहेका छन्। सदस्यहरूमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकी र कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका लेखापाल रामबाबु यादव रहेका छन्।
पत्रमा उल्लेख भएअनुसार सर्लाही प्रादेशिक अस्पतालमा कार्यरत संयन्त्रसँग सम्बन्धित सरकारी सम्पत्तिको निजी प्रयोजनका लागि दुरुपयोग भएको भन्ने विषयमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। समितिलाई तीन दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
सिंह आगामी कार्तिक १७ गते अवकाशमा जान लागेका छन्। उनले सोहि अवसर पारेर गत शुक्रबार दिउँसो अस्पतालका लाखौं मूल्यका सरकारी सामग्रीहरू व्यक्तिगत प्रयोजनका लागि घरतर्फ लगेको खुलासा भएको थियो। उक्त सामाग्री उनले अस्पतालकै सरकारी गाडी बिरगञ्जस्थित आफ्नै निवासमा लगेका हुन्।
सिंहले अस्पताललाई कमाउ धन्दामा रुपान्तरण गरेको आरोप बिगतमा लाग्दै आएको थियो। अस्पतालमा आउने बिरामीलाई रिफर गर्ने र सो बापत जुन प्राईभेट अस्पतालमा रेफर गरियो त्यहाँबाट उनले कमिशन लिने गरेको आरोप लागेको छ।
यसका साथै, उनले अस्पतालको गाडी घरायसी देखि व्यक्तिगत कामहरुमा समेत प्रयोग गर्ने गरेका समाचारहरु समेत आएका थिए।
यो पनि पढ्नुहोस:
– अवकाशअघि अस्पतालको सामान घरतर्फ, मलंगवा अस्पतालका प्रमुखमाथि गम्भीर आरोप





