सिमरा घटना: जेन-जी र प्रशासनबीच तीनबुँदे सहमति

२०८२ मंसिर ६, शनिबार ०७:५५
file image

सर्लाही – बाराको सिमरा क्षेत्रमा उत्पन्न तनाव व्यवस्थापनका लागि जेनजी समूह र प्रशासनबीच सहमति भएको छ।

शुक्रबार पथलैयास्थित सशस्त्र प्रहरी बल नेपालको प्राविधिक तालिम शिक्षालयमा सम्पन्न वार्ताले घटनाको निष्पक्ष छानबिन गर्ने, घाइतेहरूको उपचारमा समन्वय गर्ने र जेनजी युवाको सुरक्षामा व्यवस्थापन गर्ने गरी तीनबुँदे सम्झौता गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।

वार्ताका क्रममा जेनजी पक्षका प्रतिनिधिहरूले आफूहरू धम्की र दवावमा परेको भन्दै सुरक्षाको पूर्ण ‘ग्यारेन्टी’ माग गरेको जनाएको छ। प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए भने जेनजी पक्षबाट अभियन्ता सुदन गुरुङ, पुरुषोत्तम यादव र बाराका अध्यक्ष सम्राट उपाध्याय सहभागी थिए।

जीतपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल पनि बैठकमा उपस्थित रहेका थिए। प्रजिअ मिश्रका अनुसार जेनजीको उजुरीका आधारमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।

पक्राउ परेकामध्ये जीतपुर सिमरा उपमहानगरपालिकाका एमालेबाट निर्वाचित दुई जना वडाध्यक्ष तथा एक स्थानीय एमाले युवा नेता रहेको उनले बताए। बुधबार एमाले नेता कार्यकर्ताद्वारा केही जेनजी युवामाथि भएको कुटपिटपछि जिल्लामा तनाव चर्किएको थियो।

स्थितिलाई सामान्य बनाउन लागाइएको कर्फ्यू आदेश अवज्ञा गर्दै जेनजी युवाहरूले बुधबार र बिहीबार दिनभरि वीरगन्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए, जसका कारण बारा जिल्लामा लगातार दुई दिन अशान्ति कायम भएको थियो।

यो पनि पढ्नुहोस:
बारामा जेन-जी युवा कुटेको आरोपमा एमालेका दुई वडाध्यक्ष पक्राउ
सिमरा घटना: किटानी जाहेरी परेका थप एक जना पक्राउ, अवस्था सामान्य बन्दै

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार