बाराको पानी उद्योगमा कार्यरत सर्लाहीका पुरुषको हत्या प्रकरण: दुई जना पक्राउ

२०८२ मंसिर १३, शनिबार १५:३२

सर्लाही – बाराको प्रसौनी गाउँपालिका – ६ स्थित किरण वेभरेज प्रालिका प्रबन्धक राम किशोर सिंहको हत्या प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराबाट खटिएको बिशेष प्रहरीको टोलीले घटनाको १८ घण्टा नबित्दै उनीहरुलाई पक्राउ गरेको हो।

बिहीबार राति धारिलो हतियार प्रयोग गरी सिंहको हत्या गरी फरार रहेका आरोपितलाई प्रहरीले विशेष सूचनाको आधारमा समातेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी खेम प्रसाद नेपालले जनाएका छन्।

उनका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरी कार्यालय बारामा नै राखिएको छ। ‘आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिनेछ,’ उनले बताए। हालसम्म पक्राउ परेका दुबै जनाको परिचय खुलाइएको छैन।

सर्लाहीको धनकौल गाउँपालिका – २ निवासी ४२ वर्षीय सिंह किरण बेभरेज प्रालिमा प्रबन्धकका रूपमा कार्यरत थिए। बिहीबार राति कम्पनी भवनबाट करिब ५० मिटर उत्तरतर्फ उनको घाँटी रेटी हत्या गरिएको अवस्थमा शव फेला परेको थियो।

शुक्रबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको र घटना सार्वजनिक भएको हो। प्रहरीले घटनास्थलको मुचुल्का उठाई प्रारम्भिक खोजतलास सुरु गरेको थियो।

सोही क्रममा प्राप्त बिशेष सूचनाको आधारमा घटनामा संलग्न व्यक्तिहरू पक्राउ गर्न सफल भएको बताइएको छ। घटनाको कारण, योजना र सम्भावित अन्य संलग्नताबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यो पनि पढ्नुहोस:
बारामा अज्ञात समूहद्वारा पानी उद्योगका मेनेजरको घाँटी रेटेर हत्या

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार