मलंगवा – आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सर्लाही क्षेत्र नं. ४ मा नेपाली कांग्रेसभित्र उम्मेदवार सिफारिस प्रक्रियामा विवाद चुलिएको छ। पार्टीको स्पष्ट मापदण्ड र केन्द्रीय निर्देशन हुँदाहुँदै हाल प्रदेश सभा सदस्य रहेका वीरन्द्र प्रसाद सिंहको नाम सिफारिस गरिएको खुलासा भएपछि कांग्रेसभित्र असन्तुष्टि बढेको छ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार प्रदेश सभामा हाल वहाल रहेका प्रदेश सभा सदस्यको नाम प्रतिनिधि सभा उम्मेदवारका रूपमा सिफारिस गर्न पाईदैन। तर मंगलबार बसेको क्षेत्र नं. ४ को बैठकले हाल मधेश प्रदेश सभा सदस्य वीरन्द्र प्रसाद सिंहको नाम प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सिफारिस गरेको छ। उनका साथै क्षेत्र नं. ४ बाट पार्टीका महामन्त्री गगन थापाको नामसमेत सिफारिस गरिएको छ।

मंगलबार बसेको क्षेत्र नं. ४ को बैठकमा केही व्यक्तिहरूले पार्टी निर्णयविपरीत बलपूर्वक सिफारिस गराईएको भन्दै पार्टीका सक्रिय सदस्य तथा नेताहरुले अशन्तुष्टी जनाएका छन्।
पार्टीका महासमिति सदस्य डा. राजेश्वर सिंह कुशवाहाले आफ्नो नामसमेत प्रतिनिधि सभा तर्फ सिफारिसका लागि दाबि प्रस्तुत गरे पनि केन्द्रीय निर्णयको उल्लङ्घन गर्दै सिंहको नाम सिफारिस गरिएका कारण प्रक्रिया नै अन्योलमा परेको बताए।
उनले धड्कन एफ एमसंग कुरा गर्दै भने – ‘सिंहको नाम पार्टी निर्णयविपरीत बलपूर्वक सिफारिस गरिएको छ, तर कानूनी राज्य छ, पार्टीलेसमेत उक्त सिफारिसलाई बदर गर्नेमा म ढुक्क छु, र पार्टीको केन्द्रिय समितिले मेरो दाबीलाई स्वीकारेर मलाई नै क्षेत्र नं. ४ को उम्मेद्वार बनाउने छ।’
उनले भने – ‘महामन्त्री थापालाई भने यसघि पनि जिल्लामा आउँनका लागि भन्दै उनको नाम सर्बसम्मत सिफारिस गरिएको थियो, पछि उहाँ आउनु भएन जिल्लाकै अर्को क्षेत्रबाट आएर उम्मेद्वार हुँदा पार्टीले हार बेहोर्नु पर्यो। त्यो सबैले देखेकै कुरा हो।’
यस बिषयमा मधेश प्रदेश सभा सदस्य तथा पुर्व स्वास्थ्य मन्त्रि बिरेन्द्र प्रसाद सिंहसंग बुझ्दा उनले ‘आफूले उम्मेद्वार हुन्छु भनि अघि नसरेको र बैठकमा उपस्थित भएका वडा सभापतिदेखि क्षेत्रीय समिति सभापतिसम्मले तपाई नै उम्मेद्वार हुनुपर्छ भनेर भनेपछि आफूले स्वीकार गरेको र नाम सिफारिस भएको बताए। अब पार्टीको मापदण्ड अनुसार पार्टीको केन्द्रिय समितिले जे निर्णय गर्छ म मान्न तयार छु।’
यस घटनापछि सर्लाहीमा कांग्रेसभित्रको आन्तरिक असन्तुलन फेरि सतहमा आएको छ भने उम्मेदवार चयन प्रक्रियामा निष्पक्षता र पारदर्शिताबारे प्रश्नसमेत उठ्न थालेका छन्।
यो पनि पढ्नुहोस:
– कांग्रेस सर्लाही: क्षेत्र नं. १ र २ मा निर्णय हुन सकेन, ४ बाट गगन थापा र बिरेन्द्र सिंहको नाम सिफारिस






