लगातारको शीतलहरले सर्लाहीसहित मधेशको जनजीवन कष्टकर

२०८२ पुष ८, मंगलवार ०९:२७
file image

सर्लाही – लगातार चार दिनदेखि चलेको शीतलहरका कारण सर्लाहीसहित मधेशका विभिन्न जिल्लामा जनजीवन अत्यन्तै कष्टकर बनेको छ । रातदिन चल्ने कठ्याङ्ग्रिने चिसोले सामान्य जनजीवन मात्र होइन, स्वास्थ्य, कृषि र आवतजावतसमेत प्रभावित भएको छ ।

शनिबारदेखि हुस्सु र बाक्लो कुहिरोसँगै बढेको जाडोले बालबालिका, वृद्धवृद्धा, अशक्त तथा दीर्घरोगीलाई सबैभन्दा बढी असर पारेको स्थानीयवासीले बताएका छन् । बिहान र बेलुकाको समयमा शीतलहरले रुखका पात र सडकसमेत भिज्ने अवस्था देखिन्छ । चिसोबाट जोगिन मानिसहरू घरआँगन, चोकचौतारा र बजार क्षेत्रमा आगो तापेर बस्न बाध्य छन् ।

तर न्यानो कपडाको अभावमा विपन्न, दलित तथा सीमान्तकृत समुदायका परिवार भने कठ्याङ्ग्रिँदै दिन बिताउन बाध्य छन् । यति गम्भीर अवस्थाका बाबजुद स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायको चासो नदेखिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

शीतलहरका कारण तरकारी बालीमा क्षति पुग्ने चिन्ताले किसानहरू त्रसित बनेका छन् । चिसोले चौपाया र पन्छीसमेत प्रभावित भएका छन् । चार दिनदेखि घाम नलाग्दा सरसफाइ र दैनन्दिन काममा समेत समस्या उत्पन्न भएको स्थानीयको भनाइ छ । बाक्लो हुस्सु र कुहिरोका कारण नजिकको दृश्यसमेत स्पष्ट नदेखिने भएपछि सवारीसाधनहरू दिनको समयमा समेत बत्ती बालेर चलिरहेका छन् ।

यस मौसममा चिसोजन्य रोगको जोखिम बढ्ने भएकाले चिकित्सकहरूले बालबालिका र वृद्धवृद्धालाई विशेष ध्यान दिन, न्यानो कपडा प्रयोग गर्न तथा तातो र झोलिला खानेकुरा सेवन गर्न सबैलाई आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस:
शीतलहरले स्वास्थ्यमा पार्ने असर र बच्ने उपाय

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार