मलंगवा – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी तीव्र पारिएको छ।
जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलका अनुसार निर्वाचन क्षेत्र नं. १ मा लालबन्दी, क्षेत्र नं. २ मा मलङ्गवा, क्षेत्र नं. ३ मा हरिवन र क्षेत्र नं. ४ मा गोडैतामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने योजना छ।

क्षेत्र नं. २ को कार्यालय मलङ्गवास्थित जिल्ला समन्वय समिति (साबिक जिविस) को भवनमा र क्षेत्र नं. ४ को कार्यालय गोडैतास्थित वेणी भोला नमूना माध्यमिक विद्यालयमा रहने लगभग टुंगो लागेको छ।
तर क्षेत्र नं. १ र ३ का लागि भवन छनोट हुन बाँकी रहेको पौडेलले बताए। यसअघि क्षेत्र नं. १ मा लालबन्दी नगरपालिकाको पुरानो भवनमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन हुँदै आएको थियो। हाल सो भवनमा वडा कार्यालय, भूमि आयोग तथा न्यायिक समितिको काम भइरहेकाले यस पटक वैकल्पिक स्थान खोजिएको हो।
जिल्ला निर्वाचन कार्यालयका अनुसार वडा नं. ७ स्थित साझा संस्थाको व्यावसायिक भवन वा वडा नं. १० स्थित चन्द्रपुर वडा कार्यालय परिसरको भवनमा कार्यालय राख्नेबारे छलफल भइरहेको छ। साझा संस्थाको भवनमा विद्युत् जडान बाँकी रहेकाले आवश्यक परे पुरानै नगरपालिका भवन प्रयोग गर्ने विकल्प पनि खुला राखिएको छ।
यस्तै, क्षेत्र नं. ३ को हरिवनमा पनि कार्यालय स्थापना गर्ने तयारी भए तापनि उपयुक्त भवन छनोट हुन बाँकी छ। क्षेत्र नं. १ र ३ का हकमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहितको टोलीले अनुगमन गरेपछि अन्तिम निर्णय हुने निर्वाचन कार्यालयले जनाएको छ। सुरक्षा, पार्किङ सुविधा, मतगणनाका लागि पर्याप्त स्थान र पूर्वाधारलाई प्राथमिकतामा राखेर भवन छनोट गरिने सुरक्षा अधिकारीहरूको भनाइ छ।
यसअघि नै चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिइसकेका छन्। प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले एक दुई दिनभित्रै चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय रहने स्थान निश्चित हुने जानकारी दिए। कार्यालय स्थापना भएपछि उम्मेदवारी दर्तादेखि मतगणनासम्मका सम्पूर्ण निर्वाचन गतिविधि सम्बन्धित क्षेत्रबाटै सञ्चालन गरिनेछ।
निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा तयारीका काम तीव्र बनेका छन्। सर्लाहीमा ३१२ मतदानस्थल अन्तर्गत ६२८ मतदान केन्द्र तोकिएका छन् भने पाँच लाख ११ हजार ६०६ जना अन्तिम मतदाता कायम भएका छन्।
फागुन २१ को निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवामा निर्वाचन प्रहरीको आवेदन संकलन कार्य जारी छ। जिल्ला प्रहरी कार्यालयका अनुसार तीन हजार ९२६ जना निर्वाचन प्रहरीको कोटा प्राप्त भएको छ र माघ १ गतेसम्म आवेदन लिइनेछ।
सम्बन्धित खबर:
– सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकियो





