सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०८२ माघ २, शुक्रबार १७:२७

गोडैता – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तर्गत सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार क्षेत्र नं. १ को कार्यालय लालबन्दी नगरपालिका – १० स्थित वडा कार्यालय चन्द्रपुरमा, क्षेत्र नं. २ को कार्यालय मलंगवास्थित साबिक जिल्ला विकास समिति भवनमा, क्षेत्र नं. ३ को कार्यालय हरिवनस्थित मालपोत कार्यालयमा र क्षेत्र नं. ४ को कार्यालय गोडैता बजारस्थित वेणी भोला नमूना माध्यमिक विद्यालयमा स्थापना गरिएको हो।

क्षेत्र नं. २ मा रहेको कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहने छ। निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै उम्मेदवारी दर्तालगायतका प्रशासनिक तथा प्राविधिक तयारीलाई तीव्र बनाइने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते देशभर एकै साथ उम्मेदवारी दर्ता हुने छ। जिल्ला निर्वाचन अधिकारी पौडेलका अनुसार हाल स्थापना भएका कार्यालयहरूमा आवश्यक फर्निचर, इन्टरनेट, विद्युत् तथा अन्य पूर्वाधार व्यवस्थापनको काम तत्काल सुरु गरिनेछ।

फागुन २१ गते हुने निर्वाचनका लागि सर्लाहीमा जिल्ला अदालतका मुख्य न्यायाधीश पुष्पराज थपलियालाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ। उनले निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको भूमिका पनि सम्हाल्ने छन्।

यो पनि पढ्नुहोस:
सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकियो

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार