बारामा आमा-छोरा हत्या प्रकरण: बुहारी नै मुख्य योजनाकार, दुई जना पक्राउ

२०८२ माघ १४, बुधबार १५:४५

सर्लाही – बाराको परवानीपुरमा भएको दोहोरो हत्याकाण्डमा चकित पार्ने तथ्य बाहिर आएको छ। आफ्नै सासू र श्रीमानको हत्या बुहारीकै योजनामा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

बाराको परवानीपुर गाउँपालिका – १ की ४६ वर्षीया सुमित्रा देवी र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या रामेश्वरकी श्रीमती २३ वर्षीया मानिता देवीको योजनामा गरिएको निष्कर्षमा प्रहरी पुगेको छ। घटनामा संलग्न एक युवकसँगै मानितालाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रहरीका अनुसार पक्राउ परेका ती युवक मानिताका पूर्वप्रेमी हुन्। उनी वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका थिए। अनुसन्धानका क्रममा हत्या योजनासहित उनलाई नेपाल बोलाइएको खुलेको छ। ती युवक माघ १२ गते दुबईबाट काठमाडौं आएका र सोही दिन बारातर्फ गएको प्रहरीको भनाइ छ।

हत्या ‘सुपारी’ दिएर गराइएको हो वा ती युवकले आफैंले हत्या गरेका हुन् भन्ने विषयमा अनुसन्धान जारी छ। तर अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार मानिताका प्रेमीमार्फत कन्ट्र्याक्ट किलर प्रयोग गरिएको हुन सक्ने आशंका बलियो छ।

गएराति घरभित्रै सुमित्रा देवी र रामेश्वर मण्डलको घाँटीमा चक्कु प्रहार गरी हत्या गरिएको थियो। सोही घटनामा रामेश्वरका ५० वर्षीय बुबा जगरुप मण्डल र २० वर्षीया बहिनी रिणा कुमारी मण्डल गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार घटनाको अनुसन्धान तीव्र पारिएको छ। हत्यामा संलग्न एक व्यक्ति भारततर्फ फरार भएको आशंकामा खोजी भइरहेको छ। पक्राउ परेका युवक र मानिता देवी दुबैको शरीरमा सामान्य चोटपटक देखिएको प्रहरीले जनाएको छ।

घटनाले स्थानीय क्षेत्रलाई स्तब्ध बनाएको छ भने प्रहरी थप प्रमाण संकलन र विस्तृत अनुसन्धानमा जुटेको छ।

यो पनि पढ्नुहोस:
बारामा एकै परिवारका आमा – छोराको हत्या

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार