सर्लाहीमा एक महिनामा १ सय ३२ अपराधका घटना दर्ता

२०८३ बैशाख ५, शनिबार ११:३३

गोडैता – जिल्ला प्रहरी कार्यालय सर्लाहीले चैत महिनामा जिल्लाभर १ सय ३२ वटा आपराधिक घटना दर्ता भएको जनाएको छ।

सर्लाहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार ज्यानसम्बन्धी, चोरी, सामाजिक तथा सवारी ज्यानसँग सम्बन्धित विभिन्न मुद्दा दर्ता भएका छन् । यसैगरी, बैंकिङ कसुर, जुवातास, ठगी र हातहतियारसम्बन्धी ३५ वटा गम्भीर प्रकृतिका मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ।

अनुसन्धान र कारबाहीका क्रममा सोही अवधिमा ९६ जना प्रतिवादी पक्राउ परेका छन्। प्रहरीले १५ वटा पुराना मुद्दा फर्छ्योट गरेको जनाएको छ। फैसला कार्यान्वयनका क्रममा ५ जना पक्राउ परेका छन्। उनीहरूबाट ८ वर्ष ४ महिना कैद सजाय र २० हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६८ उजुरी दर्ता भएका छन्। हराएका ३२ जनामध्ये १६ जना फेला पारिएको र बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ। घरेलु हिंसाका ३६ उजुरीमध्ये २२ वटा मिलापत्र गरिएको छ।

लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले ३७३.९५० केजी गाँजासहित अन्य लागूऔषध बरामद गर्दै ८ जनालाई पक्राउ गरेको छ। यसैबीच, चैत महिनामा १८ जनाले जिल्लामा आत्माहत्या गरेका छन्। उक्त तथ्यांकले चिन्ता बढाएको छ। यस्तो घटना १६–२५ र २६–३५ वर्ष उमेर समूहमा बढी देखिएको छ।

यो पनि पढ्नुहोस:
सर्लाहीमा पछिल्लो एक महिनामा ९६ सवारी दुर्घटना: ५ को मृत्यु, १२९ जना घाइते

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार