सर्लाही – मधेश प्रदेशमा आत्महत्याका घटनाले पछिल्ला वर्षहरूमा भयावह रूप लिँदै गएको पाइएको छ । मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्ला तीन वर्षमा मात्रै ३ हजार ३ सय ४८ जनाले आत्महत्या गरेका छन् । दैनिक औसत तीनदेखि चार जनासम्मले आत्महत्या गर्ने गरेको तथ्यांकले प्रदेशमा मानसिक तथा सामाजिक संकट गहिरिँदै गएको संकेत गरेको छ ।
प्रहरीका अनुसार चालु आर्थिक वर्षमा मात्रै ७ सय ९३ जनाले आत्महत्या गरेका छन् । जसमध्ये २ सय ८२ पुरुष, ३ सय ४ महिला र २ सय ७ बालबालिका रहेका छन् । आत्महत्या गर्ने बालबालिकामध्ये १ सय ७२ जना बालिका रहेको प्रहरी तथ्यांकमा उल्लेख छ ।

जिल्लागत रूपमा हेर्दा चालु आर्थिक वर्षमा सबैभन्दा बढी सिरहामा १ सय ३४ जनाले आत्महत्या गरेका छन् भने सबैभन्दा कम पर्सामा ६९ घटना दर्ता भएका छन् । धनुषामा १ सय १२, सर्लाहीमा १ सय ११, रौतहटमा १ सय ९, बारामा ९३, सप्तरीमा ८८ र महोत्तरीमा ७७ जनाले आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष २०८१/०८२ मा मधेश प्रदेशमा १ हजार २ सय ६१ जनाले आत्महत्या गरेका थिए । तीमध्ये ४ सय ७८ पुरुष, ४ सय ७२ महिला र ३ सय ११ बालबालिका थिए । त्यस वर्ष धनुषामा सबैभन्दा बढी २ सय ७ र पर्सामा सबैभन्दा कम १ सय ९ घटना भएका थिए ।
त्यसअघि आर्थिक वर्ष २०८०/०८१ मा १ हजार २ सय ९४ जनाले आत्महत्या गरेका थिए । उक्त वर्ष ५ सय ५६ पुरुष, ४ सय ७० महिला र २ सय ६८ बालबालिकाले ज्यान गुमाएका थिए । सर्लाहीमा सबैभन्दा बढी २ सय ६ र सप्तरीमा १ सय १७ जनाले आत्महत्या गरेको तथ्यांक छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थापालियाका अनुसार आत्महत्या दुरुत्साहनसम्बन्धी घटनामा पनि प्रहरी सक्रिय रूपमा अनुसन्धान र कारबाहीमा जुटिरहेको छ । पछिल्ला तीन वर्षमा ४ सय ९९ जनाविरुद्ध मुद्दा चलाइएको उनले बताए ।
विशेषज्ञहरूका अनुसार आत्महत्याका पछाडि बेरोजगारी, आर्थिक अभाव, पारिवारिक तनाव, घरेलु हिंसा, दाइजो प्रथा, प्रेम सम्बन्धमा असफलता, लागुऔषध दुव्र्यसन तथा मानसिक दबाबजस्ता कारण प्रमुख रूपमा देखिएका छन् ।
बालबालिका तथा किशोरकिशोरीमा पनि आत्महत्याको दर बढ्दै गएको देखिएको छ । कम उमेरमै प्रेम सम्बन्धमा जोडिनु, परिवारबाट अस्वीकार हुनु, सामाजिक दबाब र सामाजिक सञ्जालको दुरुपयोगले उनीहरूमा मानसिक तनाव बढाउने गरेको जानकारहरू बताउँछन् ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले आत्महत्यालाई गम्भीर सामाजिक चुनौतीका रूपमा स्वीकार गरेका छन् । उनले मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना, मनोपरामर्श सेवा र समुदायस्तरको सहकार्य आवश्यक रहेको बताए ।
विशेषज्ञहरूले विद्यालय तहदेखि मानसिक स्वास्थ्य शिक्षा सुरु गर्नुपर्ने, समुदायमा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा जनचेतनामूलक अभियान तीव्र बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
यो पनि पढ्नुहोस:
– सर्लाहीमा दुई महिनामा ३३ जनाले गरे आत्महत्या





