सर्लाहीमा पुरुषको विभत्स हत्या: ९ दिनपछि आरोपी पक्राउ, अनुसन्धानबाट खुले यस्ता तथ्य

२०८३ असार १८, बिहीबार १२:४५

मलंगवा – सर्लाहीको बसबरिया गाउँपालिका – १, मानपुरमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा प्रहरीले ११ दिनपछि एक युवकलाई पक्राउ गरि सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार पत्रकार सम्मेलनमार्फत हत्या आरोपमा पक्राउ परेका बसबरिया गाउँपालिका–१ मानपुर निवासी २५ वर्षीय सन्तोष कुमार रायलाई सार्वजनिक गरेको हो।

प्रारम्भिक अनुसन्धानमा मोबाइलको विषयमा भएको विवाद, पैसा नदिएको रिस तथा परिवारले सुधार केन्द्र पठाउने तयारी गरेको आक्रोशका कारण हत्या भएको खुलेको प्रहरीले जनाएको छ।

गत असार ७ गते राति करिब १:१० बजे मानपुर टोलस्थित आफ्नै घरमा सुतिरहेका ५३ वर्षीय होस नारायण राय यादवमाथि धारिलो हतियार प्रहार भएको थियो। घटनाको जानकारी बिहान १:४५ बजे इलाका प्रहरी कार्यालय मानपुरमा पुगेपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।

गम्भीर घाइते भएका यादवको घाँटीको दाहिने भागमा गहिरो चोट लागेको अवस्थामा उद्धार गरी उपचारका लागि बरहथवा नगर अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा बिहान २ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय बरहथवा, प्राविधिक टोली तथा मधेश प्रदेश प्रहरी कार्यालयको के–९ (डग) टोली परिचालन गरी व्यापक अनुसन्धान सुरु गरिएको थियो। घटनास्थलमा रहेका प्रमाण, कल डिटेल र लोकेसन विश्लेषण (सीडीआर, बीटीएस), सीसीटीभी फुटेज तथा अन्य प्राविधिक आधारहरूको अध्ययन गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रारम्भिक सोधपुछका क्रममा मृतकसँगै घरमा रहेका परिवारका सदस्यहरूले मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी फरार भएको बताएका थिए। घटनाकै राति वारदातस्थलबाट करिब दुईदेखि तीन सय मिटर दूरीमा पार्किङ गरिएको ना ४५ प २६८५ नम्बरको ग्ल्याम्बर १२५ सीसी मोटरसाइकल चोरी भएको सूचना पनि प्रहरीलाई प्राप्त भएको थियो।

अनुसन्धानका क्रममा उक्त मोटरसाइकल प्रयोग गरी स्थानीय सन्तोष कुमार राय घटनास्थल पुगेको तथा घटनापछि उनी गाउँबाटै सम्पर्कविहीन भएको तथ्य खुलेको प्रहरीले जनाएको छ। चोरी भएको मोटरसाइकल असार १४ गते लालबन्दी नगरपालिका – २ नवलपुरस्थित निर्माणाधीन घर अगाडि बेवारिसे अवस्थामा फेला परेको थियो।

मोटरसाइकल बरामद भएपछि प्रहरीले सन्तोषको खोजी तीव्र बनाएको थियो। अन्ततः घटना घटेको ९ दिनपछि असार १६ गते दिउँसो बरहथवा नगरपालिका – ७ बरहथवा बजार नजिक लुकीछिपी बसेको अवस्थामा स्थानीयवासीको सहयोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

उनका अनुसार पक्राउपछि गरिएको प्रारम्भिक सोधपुछमा सन्तोषले हत्या गरेको स्वीकार गरेका छन्। उनले वारदातअघि मोटरसाइकल चोरी गरी सोही साधन प्रयोग गरेर घटनास्थल पुगेको, हत्या गरेपछि मोटरसाइकलमा भागेर पछि नवलपुरमा छाडेको बयान दिएका छन्। घटनामा प्रयोग गरिएको हसिया बरहथवा नगरपालिका – १३ बिनमा टोल नजिक सडकछेउको खेतमा फ्याँकेको बताए पनि हालसम्म उक्त हतियार फेला नपरेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा सन्तोषले असार ६ गते मोबाइलको विषयमा भएको विवाद, आफूले पटक–पटक पैसा माग्दा नपाएको तथा परिवारले सुधार केन्द्र पठाउने कुरा गरेकाले रिसको आवेगमा हत्या गरेको बयान दिएका छन्। उनले घटनापछि आफ्नै परिवारलाई फसाउने उद्देश्यसमेत रहेको प्रारम्भिक बयानमा उल्लेख गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सन्तोषलाई यसअघि पनि खराब आचरणका कारण परिवारले सुधार केन्द्रमा राखिएको खुलेको छ।

घटनापछि मृतकका छोरा सुवासकुमार यादवको जाहेरीका आधारमा पोस्टमार्टम प्रक्रिया सम्पन्न गरी शव परिवारलाई जिम्मा लगाइएको थियो। प्रहरीले पक्राउ परेका सन्तोष कुमार रायविरुद्ध कर्तव्य ज्यान तथा चोरी सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो पनि पढ्नुहोस :
सर्लाहीमा एक पुरुषको विभत्स हत्या

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार