आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको स्वास्थ्य अवस्था अहिले कस्तो छ ?

२०८३ असार २७, शनिबार १०:०३

सर्लाही – सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० मा आत्मदाहको प्रयास गरेका स्थानीय ३५ वर्षीय विवेक मण्डलको अवस्था अझै चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन्।

शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका मण्डललाई सदरमुकाम मलंगवामा प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो। उनलाई शुक्रबार साँझ करिब ७:३० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।

हाल मण्डलको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको शरीरको करिब ८५ प्रतिशत भाग गम्भीर रूपमा जलेको छ। शरीरका अधिकांश भागमा गहिरो जलन भएका कारण उनको अवस्था अझै चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

अस्पताल स्रोतका अनुसार चिकित्सकको निरन्तर निगरानीमा उनको उपचार भइरहेको छ। गम्भीर प्रकृतिको जलन भएकाले उनको स्वास्थ्य अवस्थामाथि नजिकबाट निगरानी राखिएको छ।

विवेकले शुक्रबार घरबाट करिब २०० मिटर टाढा पुगेपछि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको कारण भने हालसम्म खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो पनि पढ्नुहोस:
सर्लाहीको गोडैतामा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौं लगिँदै

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार