विवाहको तयारी गरिरहेका सर्लाहीका अनिलको रहस्यमय मृत्यु

२०८२ माघ २४, शनिबार १९:३४
अनिल महतो

मलंगवा – सर्लाहीको ईश्वरपुर नगरपालिका – ७, पोखरी टोलका एक युवक पोखरीमा मृत अवस्थामा फेला परेका छन्। २० वर्षीय अनिल महतो सोमबार रातिदेखि बेपत्ता भएका थिए।

प्रहरीका अनुसार सोमबार राति घरबाट निस्किएका अनिल मंगलबारसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजतलास सुरु गरेको थियो। बुधबार बिहान आफ्नै घरबाट केहि दुरीमा टाढा रहेको पोखरीमा स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

घटनास्थलबाट मृतकको मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो। पोस्टमार्टम सम्पन्न भए पनि घटनाको निष्पक्ष छानबिनको माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गरेको छ।

मृतक अनिल महतो लेबरको रूपमा काम गर्दै आएको पारिवारिक श्रोतले जनाएको छ। मृतकका बुवा रामप्रताप महतोले सोमबार राति छोरा अनिलसँगै खाना खाएर सुत्न गएको र मंगलबार बिहान उठ्दा अनिलको कोठाको ढोका खुल्लै रहेको बताए।

बुधबार नै अनिलको बिहेको छेका तय गर्ने कार्यक्रम रहेको थियो। विवाहको तयारी भइरहेका बेला भएको यस घटनाले परिवार र स्थानीय समुदायलाई शोकमा डुबाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यो पनि पढ्नुहोस:
सर्लाहीमा एक युवक मृत फेला

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार