विवाहेतर सम्बन्धका कारण प्रहरी जवानको हत्या

२०८२ चैत्र ३०, सोमबार २१:१३

सर्लाही – पर्साको वीरगञ्ज महानगरपालिका – ९ मा विवाहेतर सम्बन्धको विवादका कारण एक प्रहरी जवानको हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कालिकामाई गाउँपालिका–१ मुडली घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत २८ वर्षीय विकास चौरसियाको आइतबार साँझ हत्या भएको हो।

प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार चौरसियामाथि धारिलो हतियार र रड प्रयोग गरी निर्घात आक्रमण गरिएको थियो। घटनास्थलबाट अचेत अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानले घटनाको जड विवाहेतर सम्बन्ध रहेको देखाएको छ। प्रहरीले जनाएअनुसार रौतहटका २६ वर्षीय सन्तोष साह र उनकी पत्नी २४ वर्षीया सोनी कुमारी साह बस्दै आएको रानीघाटस्थित कोठामा पुगेका बेला चौरसियामाथि आक्रमण भएको हो।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार चौरसिया र सोनीबीच सम्बन्ध रहेको थाहा पाएपछि सन्तोषले योजनाबद्ध रूपमा हत्या गराएको खुलेको छ। सोही योजनाअनुसार चौरसियालाई कोठामा बोलाएर सन्तोषसहित चार जनाले रडले प्रहार गर्दै कुटपिट गरेका थिए।

घटनामा संलग्न सन्तोष साह, सोनी कुमारी साह, बाराको महागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह तथा भारतको उत्तरप्रदेश अलीगढका २१ वर्षीय ओमवीर प्रजापतिलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

मृतक चौरसियाको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यो पनि पढ्नुहोस:
वीरगन्जमा प्रहरी जवानको बीभत्स हत्या

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार