मलंगवा – सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयभित्रै एक पुरुषमाथि प्रहरीले निर्घात कुटपिट गरेको आरोप लागेको छ। कुटपिटबाट धनकौल गाउँपालिका – ५ हरकठवाका फेकु दास गम्भीर घाइते भएका छन्। घटनापछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर रेफर गरिएको छ।
प्राप्त जानकारीअनुसार दासका दुई छोराले अध्ययन गरेको साइनिङ स्टार बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै विद्यालय सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा प्रशासनले आवश्यक सोधपुछका लागि इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरेको थियो।

बुधबार दिउँसो दास श्रीमतीसहित प्रहरी कार्यालय पुगेका थिए। पीडित दासका अनुसार प्रहरी कार्यालयमा पुगेपछि आफूलाई एउटा कागजमा हस्ताक्षर गर्न भनिएको थियो। तर विद्यालयको सम्पूर्ण शुल्क बुझाइसकेको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेपछि प्रहरी जवान रामजीवन पासवानले आफूलाई कार्यालयभित्रको एक कोठामा लगेर बाँसको भाटा र बुटले निर्घात कुटपिट गरेको आरोप उनले लगाएका छन्।
कुटपिटबाट दासको बायाँ हात, तिघ्रा र पिठ्युँमा गम्भीर चोट लागेको छ। उनको प्रारम्भिक उपचार बरहथवास्थित हनुमन्त अस्पतालमा गरिएको थियो। स्वास्थ्य अवस्था जटिल देखिएपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको परिवारले जनाएको छ।
घटनाले प्रहरी कार्यालयभित्र नागरिकको सुरक्षामाथि नै प्रश्न खडा गरेको छ। सामान्य सोधपुछका लागि बोलाइएको व्यक्तिलाई कार्यालयभित्रै कुटपिट गरी अस्पताल पुग्ने अवस्थामा पुर्याइएको आरोपले स्थानीयस्तरमा व्यापक चर्चा सुरु भएको छ।
यता इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख सई पदम खड्काले कार्यालयभित्र दास र प्रहरी जवान रामजीवन पासवानबीच विवाद भएको स्वीकार गरेका छन्। उनले विवादकै क्रममा कुटपिटको घटना भएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रबिन्द्रनाथ पौडेल ले घटनाबारे जानकारी प्राप्त भएको भन्दै प्रारम्भिक विवरणअनुसार दासले मादक पदार्थ सेवन गरी प्रहरीमाथि हातपात गर्न खोजेपछि विवाद भएको जानकारी आएको बताए। उनले घटनामा संलग्न प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरहथवामा तानेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए।
प्रहरी चौकीभित्रै भएको भनिएको यस घटनाले प्रहरीको आचरण, बल प्रयोगको सीमा र नागरिक अधिकारको संरक्षणबारे गम्भीर प्रश्न उठाएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग स्थानीयवासीले गरेका छन्।
यो पनि पढ्नुहोस:
– सर्लाहीमा प्रहरीबाट कुटिए एक युवक, कानको जाली फुट्यो





