सर्लाही – रौतहट जिल्ला अदालतका डिठ्ठा लवकुमार सिंह ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा दायर भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार सिंहलाई दोषी ठहर गर्दै एक महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।

सिंहले रोक्का रहेको जग्गा फुकुवा गराइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोप लागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई गत चैत १७ गते उक्त रकमसहित रंगेहात पक्राउ गरेको थियो।
घटनापछि आयोगले वैशाख २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतमा भएको सुनुवाइका क्रममा आरोप पुष्टि भएपछि सिंहलाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाइएको हो।
यस फैसलासँगै घुस लिएको अभियोगमा पक्राउ परेका सिंह भ्रष्टाचार कसुरमा कानुनी रूपमा दोषी ठहर भएका छन्।
यो पनि पढ्नुहोस:
– रौतहट जिल्ला अदालतका कर्मचारी ५० हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ





