मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाभर धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा डीजे बाजा प्रयोग नगर्न पुनः आग्रह गर्दै अटेर गर्ने व्यक्ति तथा आयोजकलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।
प्रशासनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार डीजेबाट हुने ध्वनि प्रदूषण नियन्त्रण, शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले विभिन्न चरणमा सरोकारवाला निकायसँग छलफल तथा समन्वय गरिएको थियो।

सोही क्रममा राजनीतिक दल, धार्मिक संघ संस्था, जनप्रतिनिधि, स्थानीय तहका प्रमुख तथा डीजे व्यवसायीसँग भएको छलफलबाट धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा डीजे नबजाउने सर्वपक्षीय सहमति भएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार उक्त निर्णयबारे पटक पटक सार्वजनिक सूचना जारी गरिए पनि जिल्लाका केही स्थानमा निर्णय उल्लङ्घन गर्दै डीजे बजाइएको गुनासो प्राप्त भएपछि पुनः चेतावनीसहितको सूचना जारी गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय निर्णयको मर्म र भावनाविपरीत कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक वा व्यक्तिगत कार्यक्रममा डीजे बाजा प्रयोग नगर्न सबैलाई अनुरोध गरेको छ। साथै, डीजेको सट्टा अन्य वैकल्पिक बाजा प्रयोग गरी कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा निर्णयको बेवास्ता गरी डीजे बजाएको पाइएमा सुरक्षाकर्मीले डीजे, साउन्ड सिस्टम तथा प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिएर आयोजक र सञ्चालक दुवैलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने स्पष्ट उल्लेख गरिएको छ।
प्रशासनले सामाजिक सद्भाव, सांस्कृतिक एकता, आपसी भाइचारा तथा शान्ति सुरक्षा कायम राख्न जिल्लावासीको सहयोग आवश्यक रहेको भन्दै कुनै स्थानमा डीजे बजाएको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा तत्काल सूचना दिनसमेत नागरिकसँग आग्रह गरेको छ।
यो पनि पढ्नुहोस :
– सम्भावित घटनाप्रति उच्च सतर्कता अपनाउँदै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सर्लाही प्रशासनको आग्रह





