सर्लाही – सद्भावनाको पर्व होली ‘फागु’, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराई भेगमा भने भोलि मनाउने चलन छ।
तर पछिल्लो समय पहाडी क्षेत्रबाट बसाइ सरी गएका मानिसहरूले तराईमा आज पनि हर्षोल्लासपूर्ण तरिकाले होली मनाउने गरेका छन्। आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।

काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् । फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिँदैन नाचगान पनि गरिन्छ ।
हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ ।
अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।
यो पनि पढ्नुहोस – मर्यादित र सभ्य तरिकाले होली मनाउन जिप्रका सर्लाहीको अपिल
होली किन मनाइन्छ ?
यो पर्व मनाउनुको मुख्य कारणमा दानवता माथी मानवताको विजय भएको खुसीयालीमा हो । त्रेता युगमा एकजना राक्षसी प्रवृत्तिका ब्यक्ति थिए । उनको नाम हिरण्यकशिपु थियो । उनले ब्रम्हा भगवानको कठोर तपस्या गरेका थिए । तपस्याबाट भगवान् अतिनै खुसी भएर बरदान माग्न भने । उनले यस्तो बरदान मागे की उनीलाई कसैले पनि मार्न नसकुन् ।
उनको मृत्यु बिहान, राती, बाहिर भित्र, जनावर, मानिसले वा देवताको हातबाट नहोस् । अस्त सस्त्रबाट पनि मृत्यु नहोस् । यस्तो अच्चमको बरदान् माग्दा भगवानलाई अनौठो त लाग्यो होला तर उनको कठीन तपस्याका कारण ब्रम्हाले बरदान त्यस्तै दिए।
जव बरदान पाए, त्यसपछि हिरण्यकशिपुले आफूलाई नै भगवान् मान्न थाले । अरुमाथी अन्याय, अत्याचार गर्ने क्रम जारी राखे । पिता खराब प्रबृत्तिको भएतापनि उनका छोरा प्रल्लाहद भगवान् विष्णुका सबैभन्दा ठुला भक्त बन्न पुगे ।
आसुरी वा राक्षसी प्रवृत्तिको पिताले छोरालाई आफ्नै सबैभन्दा शक्तिशाली भएकाले आफ्नै पूजा गर्न भने । तर छोरा प्रल्हादले मानेनन् । पटक—पटक धम्क्याउँदा पनि छोराले भगवान् विण्णुप्रतिको अगाध श्रद्धा कायमै राखेका कारण हिरण्यकशिपुले प्रल्हादलाई मार्ने योजना बनाए ।
जसका लागि बहिनी होलिकालाई अनुरोध गरे । होलिकाले उनका दाजुको आग्रह अनुसार बालक प्रल्हादलाई लगेर आगोमा भष्म पार्न लाग्दा उनी आफै जलेर खरानी भईन् तर बालक सकुशल रहे ।
होलिका दहन भएको दिनको सम्झनास्वरुप मनाईने भएका कारण यो दिनमा होलिकाको दहन गर्ने चलन पनि छ । यहि मान्यता अनुसार फागु पूर्णिमाका रुपमा होली पर्व मनाईन्छ ।
हिरण्यकशिकपुको अत्याचार बढ्न थालेपनि स्वयं विष्णु भगवान्ले नरसिंह अवतार लिएर उनलाई मार्नु परेको थियो । यो अवतार भनेको आधा मानिस र आधा सिंहको हो । हाम्रा पर्वहरुले हामीलाई केही न केही सकारात्मक सन्देश दिएका हुन्छन् । यो पर्वले पनि घमण्ड र नकारात्मक स्वभावलाई होइन नम्रता र असल कर्म गर्न सिकाएको छ ।
हामीले यो संसारमा जन्म लिईसकेपछि गलत होईन सत्कर्मलाई लिनुपर्छ । विद्यालयमा अध्ययनरत हामी विद्याथीले सबै साथीहरुसँग मिल्नुपर्छ र गुरुहरु र आफूभन्दा ठूलालाई सम्मान र सानालाई मायाँ गर्दै अनुशासनमा रहेर आफ्नो अध्ययनलाई अगाडि बढाउनुपर्छ भन्ने सन्देश मिलेको छ । होली पर्वले सबैमा उमंग र खुसीयाली ल्याउन सकोस् ।
पहाड र तराईमा किन फरक दिन मनाइन्छ फागुपूर्णिमा र होली ?
पहाडमा नेपाली पञ्चाङ्ग र मधेसमा मिथिला पञ्चाङ्ग अनुसार होली मनाउने भएको हुनाले फरक देखिएको हो। पहाड र मधेसको सँस्कृति फरक–फरक भएको हुनाले चाडपर्व मनाउने कुरामा फरक हुने बताउँदै कसको पालामा कुन पर्वको सुरुवात भयो, त्यसले पनि मनाउने समय फरक देखिने गरेको जानकारहरु बताउछन ।
मिथिलाका राजा हर्षवर्द्धनका पालादेखि परम्परागत रुपमा होली मनाउन सुरु गरिएको हो । तर, पहाड मध्यकाल अर्थात मल्लकालका राजाका पालादेखि मनाउन सुरु गरिएको हो । फरक– फरक समयमा सँस्कृतिको सुरुवात भएका कारण चाडपर्व मनाउनेदिन फरक परेको हो ।
फागुन शुक्ल पक्ष अष्टमीको दिन काठमाडौंको वसन्तपुरमा होलीको चीर खडा गरेपछि पहाडमा विधिवतरुपमा होलीको सुरुवात भएको मानिन्छ । फागुन शुक्ल पक्ष अष्टमीको दिनदेखि सुरु भएको होली पूर्णिमाका दिन सम्पन्न हुन्छ ।
तर, तराई मधेसमा वसन्त पञ्चमीका दिनदेखि नै होलीको सुरुवात हुन्छ र १५ दिनसम्म मनाइन्छ । अर्थात फागु पूर्णिमाको दिन होलिकाको दहन गरेपछि त्यसको खुसीयालीमा त्यसको भोलिपल्ट रंग अबीर खेलिन्छ र होली सम्पन्न हुन्छ ।





