सर्लाही – सर्लाहीको सदरमुकाम मलंगवामा वर्षौं देखिको धुलो र झुटा आश्वासनविरुद्ध महिलाहरु आक्रोशित बनेका छन्। आइतबार बिहान ७ बजेदेखि मलंगवा नगरपालिका – २, की महिलाहरू झाडु र कुचो बोकेर सडकमा ओर्लिए, टायर बाल्दै सडक जाम गरे। उनीहरूको माग एउटै थियो “अब छैन सहन, हुलाकी सडक तुरुन्त बनाउ।”
विगत दुई वर्षदेखि निर्माणको नाममा अलपत्र परेको हुलाकी सडकले स्थानीयको जनजीवन तहस-नहस बनाएको छ। वडा नम्बर ९ को टावर चोकदेखि वडा नम्बर २ को झण्डा बजार हुँदै मुसैलीसम्मको खण्ड अझै अधुरो छ। ठेकेदार सम्पर्कविहीन छन्, स्थानीय प्रशासन र राजनीतिक नेतृत्व मौन। यही उदासीनता र चरम लापरवाहीप्रति विरोध जनाउँदै सयौं महिला तथा पुरुष प्रदर्शनमा उत्रिएका हुन्।

सडकमा हिँड्न नसक्ने, धुलोका कारण बालबालिका र वृद्धवृद्धा बिरामी हुने, दुर्घटनाको जोखिम बढ्नेजस्ता समस्या झेलिरहेका स्थानीयले अब दबाबको आन्दोलनबाटै समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। स्थानिय युवा नेता सोहन झाले स्पष्ट चेतावनी दिए “ठेकेदार र सम्बन्धित निकायले लिखित प्रतिबद्धता नगरेसम्म आन्दोलन रोक्दैनौं।”
यता प्रशासनले वार्ता तथा समाधानका पहल हुने बताउँदै आन्दोलनकारीलाई संयमता अपनाउन अनुरोध गरेको छ। तर स्थानीयहरु भन्छन्, “अबको आन्दोलन झुकाउने होइन, बनाउने आन्दोलन हो।” हुलाकी सडकको अधुरो यात्राले स्थानीयको धैर्यको परीक्षा लिँदै गर्दा, अब जनदबाबले मात्र सडकको भविष्य तय गर्ने देखिन्छ।
यो पनि पढ्नुहोस:
– मलंगवामा हुलाकी सडक वर्षौंदेखि अलपत्र





