प्रधानमन्त्रीको ‘भ्रमपूर्ण दाबी’: विद्युत् शुल्क घटाइएको होइन, पुरानै दरको प्रचार

२०८२ श्रावण १४, बुधबार १४:४५

सर्लाही – प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि प्रयोग हुने विद्युत् महसुल घटाएको दाबी गरेका छन् । तर, यो दाबी तथ्यमा आधारित छैन । बुधबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीले सिँचाइका लागि प्रतियुनिट ३ रुपैयाँमा विद्युत् उपलब्ध गराएको भन्दै एउटा स्टाटस पोष्ट गरे । उक्त पोस्टमा ‘विद्युत् शुल्क घटाइएको’ दाबीसमेत गरिएको थियो ।

तर नेपाल विद्युत् प्राधिकरणले अहिले पनि सिँचाइ प्रयोजनका लागि पहिले निर्धारण गरिएका दरअनुसार नै महसुल लिँदै आएको छ । प्राधिकरणको दरअनुसार, २३०/४०० भोल्टको सिँचाइ उपभोक्ताले प्रतियुनिट २ रुपैयाँ २५ पैसा तिर्नुपर्छ भने माथिल्लो भोल्टेजमा ३ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, टाइम अफ डे (टीओडी) मिटर जडान गरिएका ३३ केभी क्षमताका उपभोक्ताका लागि राति ११ बजेदेखि बिहान ५ बजेसम्म २ रुपैयाँ, बिहान ५ देखि साँझ ५ बजेसम्म ३ रुपैयाँ, र साँझ ५ देखि राति ११ बजेसम्म (पीक टाइम) ६ रुपैयाँ ३० पैसा तोकिएको छ ।

यस हिसाबले हेर्दा, केही समयमा दर बढी भए पनि अधिकांश समय सिँचाइका लागि प्रतियुनिट २ देखि ३ रुपैयाँ महसुल लिने व्यवस्था पहिलेबाटै कार्यान्वयनमा रहेको छ । तर प्रधानमन्त्रीले यसलाई ‘नयाँ निर्णय’का रूपमा प्रस्तुत गर्दा वास्तविकताबाट विचलित भएको देखिन्छ । बिजुलीको पुरानै दरलाई नयाँजस्तो बनाएर सार्वजनिक गर्नु ‘लोकप्रियता खोज्ने प्रयत्न’मात्र हो भन्ने आलोचना राजनीतिक वृत्तमै उठ्न थालेको छ ।

यो पनि पढ्नुहोस:
मधेशमा डिपबोरिङको काम सुरु, किसानले अब प्रतियुनिट ३ रुपैयाँमै सिँचाइ गर्न सक्ने

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार