सर्लाही – सिरहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले बालकका आफन्त र छरछिमेकसमेत गरी आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
गोलबजार नगरपालिका – १३ भेल्हा डंगराहाका संजय सिंहका छोरा अभिषेक सिंह आइतबार राति करिब ८ बजेदेखि बेपत्ता भएका थिए। परिवारले रातभर खोजी गरे पनि बालक फेला परेनन्।

सोमबार बिहान करिब ८ बजे अभिषेककै मोबाइलबाट आमाको मोबाइलमा ‘अपहरण भएको’ र फिरौती माग्दै सन्देश आएको परिवारले प्रहरीलाई जानकारी गराएको थियो।
प्रहरीका अनुसार आज बिहान घर नजिकैको आँप बगैंचामा अभिषेकको शव फेला परेको हो। शव भेटिएपछि प्रहरीको आशंका आफन्त वा नजिकैका व्यक्तिले नै अपहरण र हत्या गरेको हुनसक्नेतर्फ केन्द्रित भएको छ।
हाल पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार अनुसन्धान संवेदनशील चरणमा भएकाले विस्तृत विवरण खुलाउन सकिने अवस्था छैन।
यो पनि पढ्नुहोस:
– सिरहामा अपहरणपछि बालकको निर्मम हत्या





