मधेसमा तीन वर्षमा सवारी दुर्घटनाले १५ सयभन्दा बढीको ज्यान लियो

२०८२ असार ४, बुधबार ०८:२५
सांकेतिक तस्बिर

सर्लाही — मधेस प्रदेशमा पछिल्ला तीन वर्षमा सवारी दुर्घटनाबाट १ हजार ५ सय ५ जनाले ज्यान गुमाएका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार आर्थिक वर्ष २०७९/०८० देखि ०८१/०८२ सम्म १८ हजारभन्दा बढी सवारी दुर्घटना भएका छन्।

प्रहरीका अनुसार आर्थिक वर्ष ०७९/०८० मा ५ हजार ९८८ दुर्घटनामा ५४६ जनाको मृत्यु भयो। ०८०/०८१ मा ६ हजार ५८ दुर्घटनामा ५३० जनाले ज्यान गुमाए भने ०८१/०८२ मा १ हजार ८०२ दुर्घटनामा ४२९ जनाको मृत्यु भएको छ।

यी दुर्घटनाहरूमा गम्भीर घाइते हुनेको संख्या ६ हजार ८ सय ५३ पुगेको छ। सामान्य घाइतेको संख्या २१ हजार ३ सय ९२ रहेको प्रहरीको तथ्यांक छ। तीन वर्षको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ७ लाख ८४ हजारभन्दा बढी सवारीधनीलाई कारबाही गरिएको छ।

तीबाट राज्यले करिब ६५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष मात्रै प्रदेशभरि १ लाख ७२ हजार ३ सय ८ जना कारबाहीमा परेका थिए। तीबाट १५ करोड २१ लाख १० हजार ३ सय ५८ रुपैयाँ राजस्व उठाइएको थियो। मधेसका विभिन्न जिल्लामा सवारी दुर्घटनाका घटना दिनदिनै भइरहेका छन्।

गत वर्ष धनुषामा पत्रकार शिवेन्द्र रोहिताको मोटरसाइकलमा सवार रहेका बेला कारको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो। रौतहटको वृन्दावनमा ट्र्याक्टर च्यापिँदा चालक नजामोदिन मन्सुरीको ज्यान गएको थियो।

पर्साको वीरगन्जमा मोटरसाइकल दुर्घटनामा परी रामाकान्त यादव र विजय यादवको मृत्यु भएको थियो। मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीका अनुसार ट्राफिक नियमको उल्लंघन, मादक पदार्थ सेवन, हेलमेटको प्रयोग नगर्ने र तीव्र गति सवारी दुर्घटनाका मुख्य कारण हुन्।

गृहमन्त्री रमेश लेखकले पनि सवारी दुर्घटना र लागुऔषध दुवैलाई देशका ठूला समस्या मानेका छन्। प्रहरीका अनुसार अधिकांश दुर्घटनामा दुईपांग्रे सवारीसाधन संलग्न छन्। दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियानसँगै कडाइका साथ नियम कार्यान्वयन गर्नुपर्ने आवश्यकता बढ्दो छ।

तीन वर्षको तथ्यांक यस्तो छः 

आर्थिक वर्ष दुर्घटना संख्या मृत्यु गम्भीर घाइते सामान्य घाइते कारबाहीमा परेका राजस्व संकलन
०७९/०८० ५,९८८ ५४६ २,२०० ३,५३,१८३ २६.८६ करोड
०८०/०८१ ६,०५८ ५३० २,२४९ ७,४९६ २,५९,२०३ २३.३० करोड
०८१/०८२ ५,८२२ ४२९ २,४०४ ७,४४८ १,७२,३०८ १५.२१ करोड
  • श्रोत: प्रदेश प्रहरी कार्यालय जनकपुरधाम 

यो पनि पढ्नुहोस:
मधेसमा चार वर्षमा ३८५ हत्या: सुरक्षा संयन्त्र असफल
मधेसमा विपद्को कहर: चालु वर्षमै ४ सय २२ जनाको मृत्यु, ५६ करोडको क्षति
मधेस प्रदेशमा प्रहरी सेवाबाट राजीनामा दिनेको संख्या बढ्दो, जागिरप्रति आकर्षण घट्दो

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार