सर्लाहीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको ६ दिनपछि भेटियो शव

२०८२ कार्तिक ४, मंगलवार १५:१७

मलंगवा – सर्लाहीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव ६ दिनपछि भेटिएको छ। जिल्लाको धनकौल गाउँपालिका – ३ मनुसमारा खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी ११ वर्षीया सोनी कुमारी साहको शव घटना भएको ६ दिनपछि फेला परेको हो।

गत असोज ३० गते बिहान हरकठवा निवासी सोनी मनुसमारा खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन्। जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी नायब निरीक्षक शावन सिंह क्षेत्री भाटको कमाण्डमा पाँच जनाको टोली र सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा अर्को पाँच जनाको टोली खोजीका लागि खटाइएको थियो।

लगातार खोजी गर्दा पनि बालिका फेला नपरेपछि असोज ३१ गते इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक दिवाकर गणेशको नेतृत्वमा थप टोली पठाइएको थियो। सोही दिनदेखि सशस्त्र प्रहरी बल नं. २ बाहिनी बर्दिवासबाट नायब निरीक्षक भक्तबहादुर खत्रीको कमाण्डमा नौ जना गोताखोर टोली पनि परिचालन गरिएको थियो।

तीन दिनसम्म निरन्तर खोजी गर्दा पनि बालिका फेला नपरेपछि गोताखोर टोली फिर्ता भएको थियो। आज ( मंगलबार) बिहान करिब साँढे ८ बजे घटना स्थलदेखि करिब १० किलोमिटर दक्षिण जिल्लाकै रामनगर गाउँपालिका – ७ पछियारीटोलस्थित मनुसमारा खोलामा उनको शव घोप्टो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उक्त स्थानमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतकका दाई चन्दन साहले शवको सनाखत गरेका थिए।

कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए।

सम्बन्धित खबर:
धनकौलमा खोलाले बगाएर एक बालिका बेपत्ता
सर्लाहीमा खोलाले बगाएकी बालिका तीन दिनदेखि बेपत्ता, उद्धारमा सशस्त्रको गोताखोर टोली
धनकौलमा खोलाले बगाएर बेपत्ता भएकी बालिका आज पनि भेटिनन, फर्कियो गोताखोर टोली

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार