पुरानो रिसिइवीका कारण पानी उद्योगका प्रबन्धक राम किशोरको हत्या, पूर्व कर्मचारी र उनका साथी पक्राउ

२०८२ मंसिर १४, आईतवार १४:५०

सर्लाही – बाराको प्रसौनी गाउँपालिका – ६, भलुही चोकस्थित किरण बेभरेज नेपाल प्रालि (पानी फ्याक्ट्री) का प्रबन्धक राम किशोर सिंहको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

गत बिहीबार राति, सर्लाहीको धनकौल गाउँपालिका–२ का सिंहको निर्मम हत्या भएको थियो। घटनास्थल नजिकै फ्याक्ट्रीमा प्रबन्धकका रूपमा कार्यरत सिंहलाई धारिलो छुरा र इँटाले प्रहार गरी हत्या गरिएको थियो। उनको शव शुक्रबार बिहान फ्याक्ट्री नजिकै फेला परेको थियो।

हत्यामा संलग्नता पुष्टि भएपछि प्रहरीले करिब १६ घण्टाभित्रै दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा फ्याक्ट्रीका पूर्व चालक पर्साको वीरगञ्ज – २२, मनियारीका २१ वर्षीय राजन कुमार राम र उनका ३२ वर्षीय साथी प्रमोद साह तुरहा रहेका छन्।

प्रहरीका अनुसार हत्या पुरानो रिसिबी र कामबाट निकालिएको रिसका कारण घटाएको पाईएको छ। मुख्य अभियुक्त राजन कुमार रामले गत वर्ष गढीमाई मेलाको समयमा गाडीको कलच प्लेट जलेको कारण म्यानेजर सिंहसँग झगडा गरेका थिए। त्यसपछि केही समय उनले फ्याक्ट्रीमा काम छोडेका थिए।

फेरी साउन १ गतेदेखि कात्तिक १० गतेसम्म काममा फर्केका रामले कम्पनीले तोकेको मूल्यभन्दा बढीमा पानी बिक्री गरी व्यक्तिगत नाफा कमाइरहेका थिए। यो पत्ता लागेपछि म्यानेजर सिंहले उनलाई कात्तिक १० गते कामबाट हटाएका थिए। सिंहले कात्तिक ११ गते हिसाब मिलाएर बाँकी रकम पनि फर्छ्यौट गरिदिएका थिए।

पुरानो र नयाँ रिसको प्रभावमा, राजन र प्रमोदले हत्या योजना बनाए। मङ्सिर ११ गते साँझ दुवै जना रक्सी पिएर फ्याक्ट्री पुगे र साथमा बोकेको छुरा तथा इँटाले सिंहमाथि आक्रमण गरे। हत्या पश्चात् उनीहरूले शवलाई फ्याक्ट्रीबाट करिब २५ मिटर उत्तरतर्फ खाल्डोमा फालिदिएका थिए।

घटनाको भोलिपल्ट बिहान सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बाराको टोली घटनास्थल पुगेको थियो। पर्सा प्रहरीसँगको समन्वयमा भारततर्फ भाग्दै गरेका राजनलाई छिपहरमाई ५ भिस्वाको नाकाबाट, र प्रमोदलाई वीरगञ्ज – २२ मा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

घटनास्थल र अभियुक्तहरूको साथबाट रगत लागेको छुरा र इँटासमेत बरामद गरिएको छ। दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

सम्बन्धित खबर:
बारामा अज्ञात समूहद्वारा पानी उद्योगका मेनेजरको घाँटी रेटेर हत्या
बाराको पानी उद्योगमा कार्यरत सर्लाहीका पुरुषको हत्या प्रकरण: दुई जना पक्राउ

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार