सर्लाही – आत्मदाह प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० सिसौटिया निवासी ३५ बर्षिय विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको गएराति करिब २ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
गम्भीर अवस्थामा रहेका मण्डललाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं पुर्याईएको थियो। साँझ करिब ७ः३० बजे उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरी सघन उपचार थालिएको थियो। शरीरको अधिकांश भाग जलेका कारण उनको अवस्था अत्यन्तै गम्भीर रहेको थियो।

मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि स्थानीय अस्पतालमा प्राथमिक उपचार गरिएको भए पनि अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो।
मण्डलले बायोलोजी विषयमा एमएस्सी अध्ययन पूरा गरेका थिए। उनी महोत्तरीको रामनगरस्थित एक विद्यालयमा अध्यापन गर्दै आएका थिए। विद्यालयले उनको स्थानमा अर्का शिक्षक नियुक्त गरेपछि उनी करिब एक वर्षदेखि बेरोजगार बनेका थिए।
त्यसयता उनी मानसिक तनावमा रहेको पारिवारिले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस:
– एमएस्सी गरेका सर्लाहीका विवेकले किन गरे आत्मदाहको प्रयास ?
– सर्लाहीको गोडैतामा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौं लगिँदै





