सर्लाही – संघीय सरकारको स्पष्ट निर्देशन र स्वयं गाउँपालिकाले सूचना जारी गरेको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि सर्लाहीको चन्द्रनगर गाउँपालिकामा गैर दरबन्दीका करार तथा अस्थायी कर्मचारी हटाउने निर्णय कागजमै सीमित बनेको छ। अध्यक्ष राजकुमार महतोले कात्तिक ९ गते जारी गरेको सूचनाले करार सम्झौता खारेज हुने उल्लेख गरिए पनि व्यवहारमा भने एक जना पनि कर्मचारी हटाइएका छैनन्।
मन्त्रिपरिषद्को निर्णयको बेवास्ता

असोज ६ गतेको मन्त्रिपरिषद् निर्णय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ को परिपत्र र अर्थ मन्त्रालयको असोज ७ को पत्रले स्पष्ट रूपमा ‘स्वीकृत दरबन्दीबाहेक करार वा अस्थायी कर्मचारी राख्न नपाइने’ भनेका छन्। ती निर्देशन सबै स्थानीय तहसमक्ष पुगेको भए पनि चन्द्रनगर गाउँपालिकाले मौन साधेको छ।
जनदबाबपछि सूचना जारि तर कार्यान्वयन ‘शून्य’
गत महिनाको अन्त्यतिर जेन-जी युवाहरूले प्रशासनिक अकर्मण्यता देखाउँदै करार कर्मचारी हटाउन गाउँपालिका अध्यक्ष महतोमाथि निरन्तर दवाब दिएपछि सूचना निकालिएको थियो। तर सूचना कागजमै टाँसिए पनि गाउँपालिकाको आँगनभित्र काम गरिरहेका करार कर्मचारीहरू आज पनि त्यसैगरी हाजिर गरिरहेका छन्।
अध्यक्ष महतोका आसेपासे जोगाउने खेल ?
गाउँपालिकामा कार्यरत स्रोतहरू भन्छन् सूचना बाहिर आएको भए पनि अध्यक्ष महतोले आफ्ना नजिकका आसेपासेलाई जोगाउन राजनीतिक हैसियत, पदीय प्रभाव र मिलेमतो प्रयोग भइरहेको छ।
पच्चुलाल माझी, देनकुमार महतो, रामनाथ महतो, मेघनाथ महतो, रञ्जु ठाकुर, पप्पु यादव, मेनुका यादव, अमन दास, सपना ठाकुर, श्याम साह र रमेश महतोजस्ता करारका कर्मचारीहरू अझै दैनिक रूपमा कार्यालयमा उपस्थित भई काम गरिरहेको पाईएको छ।
दरबन्दी नै नभएको पदमा ‘डेन्टिस्ट’ !
चन्द्रनगर गाउँपालिकामा डेण्टल अस्पताल छैन। तर शम्भु शरण कुशवाहालाई ‘डेन्टिस्ट’ पदमा नियुक्त गरिएको छ। सूचना जारी भएपछि उल्टै अध्यक्ष महतोले नै उनीलाई गाउँपालिकाअन्तर्गतकै एक अस्पतालमा दरबन्दी मिलाइदिए।
स्थानीयका अनुसार कुशवाहा अध्यक्ष महतोका निजी बडीगार्डझैं प्रयोग भइरहेका छन्।
निजी घरधन्दाका लागि करार कर्मचारी ?
कार्यालय सहयोगीका रूपमा नियुक्त पारिएका कृष्ण महतो अध्यक्ष महतोको घरमा खाना पकाउने, लुगा धुने, घरायसी काम गर्ने जिम्मामा खटाइन्छन् भन्ने आरोप लागेको छ।
नातावाद, चलखेल र मिलेमतो
अध्यक्ष महतोले आफ्नै फुफुको छोरा देन कुमार महतोलाई शिक्षा शाखामा, देन कुमारकी श्रीमती सजन महतोलाई एक विद्यालयमा नियुक्त गरेको खुलेको छ।
त्यसैगरी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत कार्यरत सीता महतोको जागिर खोसेर राज कुमार महतो (अध्यक्षका मित) लाई सामाजिक परिचालकमा राखिएको तथ्य पनि सार्वजनिक भइसकेको छ।
अधिकृत ६ र अमिनमा कार्यकर्ता भर्ना !
पचुलाल माझीलाई अधिकृत–६ र विवेक दासलाई अमिनमा विनाप्रतिस्पर्धा, योग्यताभन्दा निकटता हेरी नियुक्त गरिएको स्थानीयको आरोप छ।
दरबन्दीबाहेकका करार कर्मचारीलाई शाखा प्रमुख दिन नमिल्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि माझीलाई योजना शाखा प्रमुख बनाइएको छ।
स्थायी शाखा प्रमुख कृष्ण आचार्यलाई हटाएर माझीलाई उठाइएको आरोप गाउँपालिका भित्र चर्किँदै गएको छ।
गाउँपालिकामा भ्रष्टाचार र दुरुपयोगको सञ्जाल
अध्यक्ष महतोको नेतृत्वमा सरकारी सवारी साधनको दुरुपयोग, ऐलानी तथा सार्वजनिक जमिनमा गिद्देनजर, सोहजन अभियान, बेटी सम्मेलन जस्ता कार्यक्रमको नाममा पनि रकम हिनामिना गर्ने गरेको स्थानीयको आरोप छ।
चन्द्रनगर गाउँपालिकामा सञ्चालन भइरहेका यी विवाद, नियुक्ति काण्ड र ‘आसेपासे जोगाउने’ खेलबारे प्रतिक्रिया लिन खोज्दा अध्यक्ष राजकुमार महतोसँग सम्पर्क हुन सकेन।
यो पनि पढ्नुहोस:
– भ्रष्टाचारको अखडा बनाईएको सर्लाहीको चन्द्रनगर गाउँपालिकाले अझै ल्याउँन सकेन बजेट
– सर्लाहीको चन्द्रनगरमा मालसामान मर्मत सम्भारमा लाखौँ घोटाला
– चन्द्रनगरमा सोलार खरिददेखि आयूर्वेद औषधि खरिदसम्ममा लाखौँ अनियमितता
– चन्द्रनगरका पूर्व प्रमुख प्रशासकीय अधिकृतले भने नेपालको सबभन्दा भ्रस्ट्र अध्यक्ष राज कुमार महतो हुन्
– चन्द्रनगर गाउँपालिकामा ईन्धन मै अनियमितता: अध्यक्ष महतोद्वारा एक लाख ८७ हजारको नियमविपरीत खर्च





