स्वास्थ्य कार्यालय सर्लाहीमा अख्तियारको छापा: दुई वर्षको ५२ करोड बजेट अनियमितताको शंका, दर्जनौं फाइल जफत

२०८२ जेष्ठ ३१, शनिबार १७:२०
स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झा

सर्लाही – स्वास्थ्य कार्यालय सर्लाहीमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म छापा मारी दर्जनौं महत्त्वपूर्ण फाइलहरू नियन्त्रणमा लिएको छ। आयोगको छानबिन टोलीले आर्थिक वर्ष २०८०/०८१ र चालु वर्ष २०८१/०८२ का सबै योजनाहरू तथा कार्यक्रमसँग सम्बन्धित फाइलहरू जफत गरेको कार्यालय स्रोतले जानकारी दिएको छ।

छापाको प्रमुख कारण पछिल्लो दुई आर्थिक वर्षमा स्वास्थ्य कार्यालयले सञ्चालन गरेको झन्डै ५२ करोड रुपैयाँ बराबरको बजेटमा व्यापक अनियमितता भएको उजुरी रहेको खुलेको छ। २०८०/०८१ मा करिब ३६ करोड बजेट विनियोजन भएकोमा त्यस बजेटबाट विभिन्न स्थानीय तहमा बर्थिङ्ग सेन्टर निर्माण तथा खोप कार्यक्रम सञ्चालन गरिएको थियो।

चालु आर्थिक वर्षमा पनि १६ करोड ५१ लाख ८२ हजारको हाराहारीमा बजेट छुट्याइएको छ, जसबाट पुनः निर्माण कार्य, योजना तथा स्वास्थ्य सेवा विस्तारका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। अख्तियार टोलीले यी सबै कार्यक्रमसँग सम्बन्धित आर्थिक कागजात, निर्माण फाइल, भुक्तानी रेकर्ड, सम्झौता प्रतिलिपि लगायतका दस्तावेजहरू जफत गरेको हो।

साथै, कन्टिजेन्सी शीर्षकमा विनियोजित डेढ करोडभन्दा बढी रकमको खर्चमा समेत गम्भीर अनियमितता भएको आशंकामा ती फाइलहरू पनि नियन्त्रणमा लिइएको बताइएको छ । छापाका क्रममा अख्तियार टोलीले स्थायी, अस्थायी तथा दैनिक ज्यालादारीमा नियुक्त कर्मचारीहरूको विवरण, करारमा नियुक्त गरिएका व्यक्तिहरूको हाजिरी रजिष्टर तथा नियुक्ति सम्बन्धी सम्पूर्ण कागजातहरू समेत अध्ययन गरेर नियन्त्रणमा लिएको छ।

करारका कर्मचारीहरूको नियुक्ति प्रक्रियामा पनि चलखेल भएको संकेत पाइएको छ। आयोगले अहिले ती विवरणहरू गहिरो अनुसन्धानका लागि बर्दिवासस्थित कार्यालयमा लगेको छ। स्थानीय स्वास्थ्य सेवा प्रवाहमा लामो समयदेखि देखा परेको अपारदर्शिता र अनियमितता विरुद्ध सार्वजनिक चासो बढिरहेका बेला अख्तियारको यो छापा महत्वपूर्ण मानिएको छ।

स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख विवादास्पद डा. नवलकिशोर झा छन्। उनि त्यस कार्यालयको प्रमुख भएदेखि नै कार्यालयको दुर्दशा सुरु भएको बताईउने गरिन्छ। उनले कार्यालयमा गरेका कर्तुतको बिषयमा धड्कन एफ एमले निरन्तर रुपमा समाचार प्रकाशन र प्रशारण गर्दै आईरहेको थियो। उनि माथि गम्भीर आरोपहरु लागेका छन् तर कहिल र कसले अनुसन्धान गर्ने ?

यो पनि पढ्नुहोस:
विवादास्पद डा. नवलकिशोरको हाकिमतन्त्र: लेखापाल आउँदा मोबाइल अफ, अफिस छाडेर भागे
कमिसनका लागि अस्पतालबाट बिरामी रेफर गर्ने आरोप लागेका डाक्टर नवल किशोरको सरुवा
स्वास्थ्य कार्यालय सर्लाहीको प्रमुखमा लालबाबु राय

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार