
सर्लाही – स्वास्थ्य सेवा प्रविधिमैत्री बनाउने नाममा सर्लाहीमा खरिद गर्न लागिएको १८ लाख रुपैयाँ बराबरको सफ्टवेयर खरिद प्रक्रिया अनियमितताको आरोपपछि स्थगित गरिएको छ। इलेक्ट्रोनिक स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (EHMIS) सफ्टवेयर खरिदमा पारदर्शिता नदेखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि स्वास्थ्य कार्यालय सर्लाहीले खरिद प्रक्रिया रोकेको हो।
सशर्त कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि स्वास्थ्य चौकीहरूको रिपोर्टिङ अनलाइन प्रणालीमार्फत गर्न १८ लाखको सफ्टवेयर खरिद योजना अघि बढाइएको थियो। तर प्रक्रिया अस्पष्ट र मिलेमतोमा अघि बढाइएको आरोपसहित उजुरी दर्ता भएपछि प्रक्रिया तत्कालका लागि रोकिएको हो।

मधेश प्रदेश सरकारअन्तर्गत जनसंख्या तथा स्वास्थ्य मन्त्रालयमार्फत प्रदेशका आठ जिल्लाका लागि समान दरमा १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर सर्लाहीमा मात्र अनियमितताको आरोप उठेपछि अख्तियारमा मुद्दा पुगेको हो।
स्वास्थ्य कार्यालय सर्लाहीका एक कर्मचारीका अनुसार हाल खरिद प्रक्रिया पूर्ण रूपमा स्थगित गरिएको छ। उनका अनुसार अब समय अभावका कारण खरिद प्रक्रिया सम्पन्न हुन नसक्ने देखिएको छ। “असार मसान्त नजिकिँदै छ, अब यो प्रक्रिया अगाडि बढ्ने सम्भावना छैन,” ती कर्मचारीले भने, “यस वर्षको बजेट फ्रिज हुने निश्चितजस्तै छ।”
यस प्रणालीमार्फत स्थानीय तहका सबै स्वास्थ्य संस्थाबाट सेवा विवरण र प्रतिवेदन अनलाइन प्रविष्ट गर्ने योजना थियो। तर उजुरी, ढिलासुस्ती र प्रक्रिया अपारदर्शी भएपछि सरकारी प्रविधि योजना नै अन्यौलमा परेको छ। स्थानीय सरोकारवाला तथा नागरिक समाजले दोषीको पहिचान गरी छानबिन गर्न माग गरेका छन्।
यस्तै, गत शुक्रबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले कार्यालयमा छापा मारेको थियो। टोलीले आर्थिक वर्ष २०८०/०८१ र चालु वर्ष २०८१/०८२ का सबै योजनाहरू तथा कार्यक्रमसँग सम्बन्धित फाइलहरूसहितका दर्जनौ फाइलहरु नियन्त्रणमा लिएको छ।
यो पनि पढ्नुहोस:
– स्वास्थ्य कार्यालय सर्लाहीमा अख्तियारको छापा: दुई वर्षको ५२ करोड बजेट अनियमितताको शंका, दर्जनौं फाइल जफत
– विवादास्पद डा. नवलकिशोरको हाकिमतन्त्र: लेखापाल आउँदा मोबाइल अफ, अफिस छाडेर भागे
– कमिसनका लागि अस्पतालबाट बिरामी रेफर गर्ने आरोप लागेका डाक्टर नवल किशोरको सरुवा
– स्वास्थ्य कार्यालय सर्लाहीको प्रमुखमा लालबाबु राय